२ श्रावण २०८३, शनिबार

तस्करसित समन्वय गर्ने कर्ण पक्राउ १०, प्रहरीसहित डिआइजी विभागीय अनुसन्धानमा !

एसीपी संवाददाता

१६ भाद्र २०८१, आईतवार ११:०९ मा प्रकाशित

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर केही दिनपूर्व रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसको लगतै एकजना डिआइजीको खातामा अस्वाभाविक रकम रहेको खुलेको छ । मधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेलको खातामा अस्वाभाविक रकम रहेको स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार डिआइजी पोखरेलको खातामा एकजना व्यक्तिले आफ्नो खाताबाट रकम ट्रान्सफर गरेको फेला परेको छ । पूर्वगृहमन्त्री विमलेन्द्र निधिका निकटमध्येका जितेन्द्र कर्णको बैंक खाताबाट मधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेलको खातामा मोटो रकम जम्मा भएको देखिएपछि प्रहरीले उनलाई विभागीय अनुसन्धानमा राखेको छ ।

सादा पोशाकका प्रहरीमा आफ्नो पैठ जमाउन सफल रहेका कर्णको खाताबाट डिआईजी पोखरेलको खातामा रकम गएको देखिएपछि उनलाई काठमाण्डु तानेर विभागीय अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

स्रोतका अनुसार आइजीपीले संकेत गरेका मधेश प्रदेशका डिआइजी पोखरेलको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानबिन सुरु भएको छ । डिआइजी पोखरेलको विषयमा छानबिनका क्रममा भ्रष्टाचार र अनैतिक धन्धामा डिआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेशका ९ र कोशीका १ जना प्रहरीलाई बयानका लागि छानबिन समितिले हेडक्वार्टरमा तानेका छन् ।

डिआइजी पोखरेलमाथि भइरहेको छानबिनका क्रममा बिचौलियाको रुपमा कर्णको नाम सार्वजनिक भएको छ । लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाण्डुबाट मधेश झरेको प्रहरी टोलीले जनकपुरधामबाट बिचौलियाको रुपमा काम गर्दै आएका कर्णलाई नियन्त्रणमा लिएको छ ।

डिआइजी पोखरेल निकट मधेशका विभिन्न ठाउँमा खटिएका १० जना प्रहरीलाई झिकाएर उजुरीमाथि छानबिन थालिएको स्रोतले जनाएको छ । छानबिनका लागि प्रधान कार्यालयले सीमा प्रहरी चौकी दुहबी धनुषाका सई चन्द्रप्रसाद यादव, प्रहरी चौकी महुवा सप्तरीका असई उपेन्द्र प्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ हवल्दार निरज कुमार साह, जिप्रका बाराका हवल्दार बच्चेलाल यादव, इप्रका बालंखा भोजपुरका हवल्दार बृजेस मुखिया, इप्रका निजगढका हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, प्रहरी चौकी जनकपुरधामका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेश प्रहरी जनकपुरधामका सहायक हवल्दार ईश्वर अच्छामी, प्रहरी चौकी कपिलेश्वर धनुषाका सहायक हवल्दार मुकुन्द शर्मा, जिप्रका धनुषामा कार्यरत रहेका प्रहरी जवान सतेश लाल कायस्थलगायतलाई अनुसन्धानको क्रममा प्रहरी हेडक्वार्टर तानेको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार विभिन्न उजुरीहरुको आधारमा अनुसन्धान भइरहेको र त्यस क्रममा केहिलाई काठमाण्डु बोलाइएको पुष्टि गरेका छन् । डिआइजी पोखरेल केहि महिनामै अनिवार्य अवकास पाउने क्रममा रहेका छन् । उनी जनकपुरधाममा नै रहेको मधेश प्रदेशका प्रहरी उपरीक्षक सुभाष बोहराले जनाएका छन् । बाहिर आएको विषय जस्तो केही नभएको उनले दाबी गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x