दक्षिण कोरियामा अवैधरुपमा बसेका नेपालीमाथि धरपकड, थप चारजना निष्काशित
कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।
पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्।
लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीका अनुसार कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ।
दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्। यसअघि पुस १७ गते दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्काशन गरेको थियो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।
कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामालाई पक्राउ गरी नेपाल पठाएको थियो।
भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको थियो। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।
इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। अन्नपूर्णपोस्ट



