दसैं बिदाको मुखमा कुलमानलाई उर्जामन्त्री खड्काको १५ बुँदे स्पष्टीकरण
काठमाडौं। उर्जा मन्त्रीमा नियुक्त भएदेखि नै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तारो बनाएका दीपक खड्काले दसैं बिदाको मुखैमा १५ बुँदे स्पष्टीकरण सोधेका छन्।
खड्काले मन्त्रीस्तरीय निर्णय भन्दै कुलमानलाई उनको पर्फर्मेन्सदेखि विभिन्न समयमा भएका खरीदलाई लिएर स्पष्टीकरण सोधेका हुन्।
माओबादी सरकारका पालामा प्राधिकरको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त भएका कुलमानलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रुचाएका छैनन्।
प्रधानमन्त्रीको ‘ब्यकअप’ मा उर्जामन्त्री खड्काले दसैंको छेको पारेर १५ बुँदे स्पष्टीकरण सोधेका हुन्।
स्रोतका अनुसार, एकदेखि ९ नम्बरसम्ममा कुलमानको ‘परफर्मेन्स’ लाई लिएर प्रश्न गरिएको छ। प्राधिकरणको नाफा काल्पनिक देखाइएकोदेखि गुणस्तरी बिजुली नदिएकोसम्मका कुरा ९ नम्बरसम्मका स्पष्टीकरणमा उल्लेख छ।
१० देखि १५ नम्बरसम्मको स्पष्टीकरणमा, ट्रान्सफरमर, बिजुलीका तारलगायतका खरीद टेण्डरलाई लिएर प्रश्न उठाइएको छ।
स्पष्टीकरण सोधेको कुरा दीपक खड्का र कुलमान घिसिङ दुबैको सचिवालयले पुष्टी गरेका छन्।
कुलमान सचिवालयले ‘यसलाई स्पष्टीकरणभन्दा पनि प्राधिकरणभित्र भएका कामका बारेमा जबाफ माग भएको’ भन्ने हिसाबले बुझ्नु पर्ने बिजमाण्डूलाई बताए। खड्का सचिवालयले भने कुलमानको कार्यकालमा थुप्रै नीतिगतदेखि अन्य खालका बिचलन देखिएकाले स्पष्टीकरण नै सोधिएको जनाएको छ।
यता स्पष्टीकरण सोधेपछि उर्जामन्त्री खड्काले प्राधिकरणको सञ्चालक समिति बैठक बुधबारका लागि डाक्दै मंगलबार साँझ सबै सञ्चालकहरुलाई ‘एसएमएस’ मार्फत खबर पठाएका थिए।
बुधबार बिहान साढे ११ बजेका लागि डाकिएको बैठक साढे नौं बजेतिर एकाएक स्थगित गरिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशकले बोलाउनु पर्ने सञ्चालक समितिको बैठक उर्जा मन्त्रीले डाकेका थिए।
प्राधिकरण सञ्चालक समितिको सदस्य सचिव कार्यकारी निर्देशक हुन्छन्। अध्यक्ष उर्जा मन्त्री हुने व्यवस्था छ। कार्यकारी निर्देशक नै प्राधिकरण व्यवस्थापनको प्रमुख हुन्छन्। उर्जामन्त्रीको हैसियत सञ्चालक समितिको अध्यक्षमा मात्र सीमित हुन्छ।
कानुनमा भएको प्रावधानले उर्जा मन्त्रीले डाकेको बैठकलाई बैधानिकता दिँदैनन।
त्यसपछि बुधबार खड्काले विशेष कारण देखाउँदै बैठक स्थगित भएको सुचना सञ्चालकहरुलाई ‘एसएमएस’ मार्फत पठाएका थिए। बिजमानडु



