दाङमा एकजना मिटरव्याजीलाई कालोमोसो दलेर जुत्ताको माला
घोराही । दाङमा एकजना मिटरव्याजीलाई कालोमोसो दलेर जुत्ताको माला लगाइएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका मिटरव्याजी, सुदखोर र करछली लगायतका आरोप लगाउँदै दुर्गाप्रसाद पन्थलाई कालोमोसो दलेको हो । सो पार्टीका दाङको तर्फबाट अम्मरको नामबाट एक विज्ञप्ति जारी गर्दै पन्थलाई कालोमोसो दली जुत्ताको माला लगाइएको जानकारी दिइएको छ ।
विज्ञप्तिमा आफ्नो पार्टीको लडाइँ सबै खाले शोषण, दमन, उत्पीडिन, हत्या, हिंसा र लुटपाटको संरक्षण गरिरहेको राष्ट्रविरोधी दलाल पूँजीवादी संसदीय व्यवस्था कै विरुद्ध रहेको र जनविरोधी व्यवस्थाको आडमा जनतामाथी शोषण गर्ने हरेक पात्र, प्रवृत्ति, संस्था र संगठनका विरुद्ध सशक्त प्रतिरोध र प्रतिवाद गर्दै जनसंघर्षको अभियान अगाडि बढाउने सन्दर्भमा पटकपटक सल्लाह, सुझाव र चेतावनी दिँदासमेत अटेर गरि जनतालाई मिटरब्याजमा पैसा लगाएर लुटको धन्दा चलाएर सयौं जनताको जीवन बर्बाद पारिदिने सुदखोर तथा मिटरब्याजी दुर्गाप्रसाद पन्थलाई जनकारबाही गर्न हाम्रो पार्टी बाध्य भएको जनाइएको छ ।



