दाहाल र नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौंमा भएको भेलामा ओलीले पार्टीका बैठकमा फर्किए प्रचण्ड–नेपालको ’अपराध’ क्षमा गरिदिने बताउनुभएको हो ।
ओलीले १०–१५ प्रतिशत व्यक्तिहरू निर्वाचन आयोग र सर्वोच्च अदालत गएको भन्दै आफूसँग बहुमत रहेको र केही व्यक्तिहरू आफू बहुमत भनेर हिँड्दै गरेको तर्क गर्नुभयो ।
झन्डै दुई तिहाई बहुमत पार्टीले प्राप्त गर्दा पनि आफ्नै दलका नेताहरूले सरकारको आलोचना गर्ने गरेकाले र सरकारका राम्रा कामको प्रसंशा नगरेकाले संसद विघटन गर्नुपरेको ओलीले बताउनुभयो । उहाले सभामुख अग्निप्रसाद सापकोटा किर्ते कामको साक्षी बनेको बताउनुभयो ।
आफूविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर सभामुख सापकोटाले किर्ते कामको साक्षी बस्ने काम गरेको तर संसद सचिवालयले सही कुरा देखाइदिएको उहाले बताउनुभयो । प्रधानमन्त्री ओलीले संसद कुनै हालतमा पनि नब्युँतिने र बैशाख १७ र २७ गते चुनाव भइछाड्ने उल्लेख गर्नुभयो ।
उहाले चुनाव चिह्न सूर्य आफू नेतृत्वको पार्टीलाई नै मिल्ने धारणा राख्नुभयो । ओलीले अत्यधिक बहुमत आफ्नो पक्षमा रहेको भन्दै चुनाव चिह्न सूर्य आफ्नै पक्षमा रहेकोमा आशंका नगर्न कार्यकर्ताहरूलाई आग्रह पनि गर्नुभयो ।



