२ श्रावण २०८३, शनिबार

देउवा–गगन झन् नजिक, शेखर कोइरालालाई लाग्दैछ ‘राजनीतिक चोट’

एसीपी संवाददाता

३ आश्विन २०८१, बिहीबार १४:२१ मा प्रकाशित

सभापति देउवाले बुधबार मात्र महामन्त्री थापाको प्रशंशा गरेका थिए। खासगरी सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेबारे प्रश्न उठाएको विषयलाई समर्थन गर्दै देउवाले थापालाई धन्यवाद दिएका थिए।

संसदीय समितिको प्रतिवेदन पढेपछि देउवाले थापालाई दिएको मुस्कानसहितको धन्यवादको संकेत एउटा आधारमा मात्र सीमित छैन। यो, कांग्रेसभित्रको आगामी समीकरण र नेतृत्व हस्तान्तरणसँग पनि जडित छ।

शेखर कोइराला समूहका भनिएका महामन्त्री थापालाई उच्च प्रशंशा गर्दा देउवाले पार्टीभित्रका अन्य विपक्षीलाई दबाएर राखेका छन्।

उनले त्यसो किन गरिरहेका छन् त?

देउवानिकट एक जना केन्द्रीय सदस्य भन्छन्,‘गत चुनावमा कांग्रेसलाई भएको क्षति कसको बलमा उठाउन सकिन्छ भन्दा गगन थापा त्यस्तो लोकप्रिय पात्र हुन्। यसकारण सभापति उहाँलाई अगाडि बढाउनुहुँदैछ।’

पार्टीभित्र प्रतिपक्षी नेता भए पनि विधानअनुसार बरिष्ठ नेताको पद पाउनुपर्ने कोइराला २२ औं बरियताबाट उठ्न सकेका छैनन्। महाधिवेशनयता देउवाले कोइरालालाई त्यो स्थिति र दबाबमा राख्दै गर्दा थापालाई भने च्याप्प समातेर माथि उठाएका छन्। यसको बिम्ब नै आगामी महाधिवेशनमा देउवा क्याम्पको नेतृत्व हस्तान्तरण पनि मानिन्छ।

थापाले धन्यवाद पाउने कार्यक्रममा भनेका थिए,‘अबको दुई बर्षपछिको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्नुहुन्छ। हामी त्यसमा कटिबद्ध भएर पार्टीका काममा सक्रिय हुन आवश्यक छ।’

‘मिशन पिएम’ अर्थात् लक्ष्य प्रधानमन्त्री अभियान नै चलाइरहेका थापाको यस्तो भनाईको अर्थ नियाँल्दा स्पष्ट हुन्छ– आगामी महाधिवेशनको समीकरण कस्तो बन्दैछ।

कांग्रेस उच्च स्रोतका अनुसार महाधिवेशनमा देउवा आफ्नो उत्तराधिकारीका रुपमा थापालाई सभापति बनाउने निचोडमा पुगेका छन्। जहाँ, उनकी पत्नी तथा हाल परराष्ट्रमन्त्री रहेकी आर्जु राणा देउवा उपसभापतिको दाबेदार हुनेछिन्।

थापा देउवाका उत्तराधिकारी हुने अनेक संकेत छन्।

खुलेरै घोषणा नगरे पनि पार्टीका जिम्मेवारी, सरकारमा पार्टीका तर्फबाट गर्नुपर्ने काममा थापालाई अग्रपंक्तिामा सार्नु। सरकारको न्युनतम साझा कार्यक्रम होस् वा सदनमा कांग्रेसको हुंकारको जिम्मेवारी देउवाले थापालाई नै दिएका छन्।

छेउमा रहेका उपसभापति पूर्णबहादुर खड्काबारे खासै टिप्पणी नगरेका देउवाले थापालाई मुस्कानसहित ‘क्रेडिट’ दिनु होस् या मिशन पिएम चलाए पनि मौन बस्नु अथवा अब पार्टी नेतृत्वबाट विश्राम लिन्छु भनेर घोषणा गर्नु पनि थापाका लागि बाटो खुला मात्र होइन, उनको साथ पनि रहेको भन्ने बुझिन्छ।

यति मात्र होइन शेखर कोइराला अबको सभापति भनेर वकालत गर्ने उपसभापति धनराज गुरुङ विवादमा आउँदा महामन्त्री थापाले सन्दर्भबस उनको बचाऊ गर्ने स्थिति छैन। यो नैतिक कारण देखाइए पनि आन्तरिक राजनीतिमा अर्थपूर्ण के छ भने कोइरालाको सभापति बन्ने सपनामा राजनीतिक चोट समेत लागिसकेको छ। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x