धर्नामा रहेको कर्मचारीमाथि प्रहरीले हस्तक्षेप
काठमाडौं । संसदमा पेस गरिएको प्रस्तावित संघीय निजामती सेवा विधेयक तत्काल फिर्ता लिन माग गर्दै निजामती कर्मचारीहरुले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार भित्रै धर्ना दिएका छन् । धर्नामा रहेको कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विधेयक फिर्ताको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रंगणमा धर्नामा रहेका केही कर्मचारीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा केदार तिवारी लागयतका कर्मचारीहरु रहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयको प्रांगणमा विहान १० राष्ट्रिय गान बजाएर विरोध कार्यक्रम गर्दैगर्दा प्रहरीले ४ जना कर्मचारीहरुलाई पक्राउ गरेको नासु बचाउ अभियानका अभियान्त प्रकाश भट्टराईले जानकारी दिएका छन् । संसद तथा सरकारले आफ्ना मागहरु बेवास्ता गरेकोले सांकेतिक रुपमा कार्यालयको काममा बाधा नपर्ने गरी विरोध जनाएको र कर्मचारीको वृत्ति विकासको मार्ग अवरुद्ध हुने प्रस्तावित संघीय निजामती सेवा ऐन तत्काल फिर्ता लिई आफ्ना माग समावेस गरी ऐन नल्याए कडा आन्दोलन गर्न पछि नपर्ने भट्टराइले बताए ।
नयाँ संविधानको जारी र संघीय संरचनाको कार्यान्वयनको लागि कानुन निर्माण गर्ने क्रममा सबैभन्दा महत्त्वपूर्ण मानिएको निजामती सेवाको सञ्चालनको लागि संघीय निजामती सेवा ऐन निर्माणको लागि सरकारले संसदमा पेश गरेको विधेयकको मस्यौदा राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरी प्रतिवेदनसहित संसदमा पेश भएको संघीय निजामती सेवा ऐनको मस्यौदाप्रति कर्मचारीहरुको तिव्र असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका छन् ।
यस्ता छन् कर्मचारीले राखेका मागहरु
प्रस्तावित संघीय निजामती सेवा ऐनमा निम्न विषयहरु समेट्नुपर्ने
१.रा.प.तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने, तर कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने । यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीको हकमा पनि लागू हुनुपर्ने ।
२. निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने ।
३. रा.प. प्रथम र रा.प. द्वितीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने ।
४. सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने ।
५. सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने ।


