१५ भाद्र २०८३, सोमबार

धार्मिक समारोह ‘उर्स शरिफ’ को बारेमा प्रकाश पार्दै कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने समाजसेवी तथा नेपाल हज कमिटी सदस्य मिर्जा राशिद बेग। 

एसीपी संवाददाता

१ श्रावण २०८२, बुधबार २३:०७ मा प्रकाशित

कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरमा एउटा मदरसा (इस्लामिक विद्यालय) छ– मदरसा फैजे मुस्तफा अतिकिया। सँगै एउटा गुम्बज शैलीको आकर्षक भवन छ। त्यही भवनभित्र मुफ्ती अतिकुर्रहमानको समाधिस्थ (कब्रस्तान) छ। यसलाई ‘बाबा–ए–मिल्लत’ पनि भनिन्छ।

हरेक वर्ष अरबी पात्रोको मोहर्ररम महिना (कात्तिक पहिलो साता) को २० तारिखका दिन मुफ्ती अतिकुरर्रहमानको मृत्युको दिनको स्मृतिमा यहाँ विशेष धार्मिक समारोह मनाइन्छ। अतिकुर्ररहमान एक धार्मिक मूर्धन्य व्यक्ति। जसले यस समाजमा शिक्षा र समाज सुधारमा अहम् भूमिका निर्वाह गरेका थिए। जसले समाजमा भएको उचनीच भावना अन्त्य गर्न अहम् भूमिका खेलेका थिए।

त्यही भएर हरेक वर्ष उनको सम्झनामा समाधिस्थ भएको ठाउँमा हजारौं मान्छे ओइरिन्छन्। श्रद्धाले समाधिस्थमा गएर झुक्छन् अनि सम्मानस्वरूप चादर चढाउँछन्।

स्थानीय समाजसेवी मिर्जा राशिद बेगका अनुसार तिनै मूर्धन्य व्यक्तिको सम्झनामा हरेक वर्ष मनाइने धार्मिक समारोहलाई ‘उर्स शरिफ’ भनिन्छ। जहाँ उनले गरेका कामको बखान सुनाइन्छ।

त्यस दिन धार्मिक गुरुहरूको तक्रिर (धार्मिक भाषण), नाअ्ते शरिफ (धार्मिक श्लोक) लगायत धार्मिक अनुष्ठान हुन्छ। उक्त अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट बाबाका हजारौं अनुयायी र श्रद्धालुहरू भेला हुन्छन्। मद्रसाका प्रधानाध्यापक मौलाना मोहम्मद हस्मत अलीका अनुसार गएको मोहर्ररम २० (कात्तिक पहिलो साता) उनको ३३ औं स्मृति कार्यक्रम मनाइयो।

बाबा–ए–मिल्लतमा मुसलमान समुदायबाहेक हिन्दु, बौद्धमार्गी र क्रिस्चियन पनि चादर चढाउन (एक किसिमको सम्मान अर्पण) लक्ष्मीनगर आउँछन्। ‘यो सबै धर्मका अनुयायीहरूको आस्थाको केन्द्र बनेको छ,’ नेपाल हज कमिटी सदस्य मिर्जा राशिद बेग भन्छन्, ‘यहाँ सर्वसाधारणहरूदेखि मन्त्रीहरूसम्म आएर सम्मानस्वरूप चादर चढाउने गरेका छन्।’

यो सबै जातजातिको सांस्कृतिक केन्द्र हो,’ बेग भन्छन्, ‘सबैलाई यहाँ हार्दिक स्वागत छ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x