१ श्रावण २०८३, शुक्रबार

नाकामा चिनी तस्कर सक्रिय, नेपाली उद्योगी मारमा

एसीपी संवाददाता

२५ मंसिर २०८१, मंगलवार २३:५७ मा प्रकाशित

नेपालको चिनीको भन्दा भारतमा चिनीको मूल्य कम हुँदा भारतबाट चिनी तस्करीमार्फत् पैठारी हुँदा नेपालमा उत्पादन भएको चिनीले बजार नपाउने समस्या सिर्जना भएको उद्योगीहरूले बताएका छन् ।

मंगलबार नेपाल चिनी उद्योग संघले राजधानीमा पत्रकार सम्मेलन गरेर तस्करीको चिनीकै कारण नेपाली चिनी उद्योगीहरू मारमा परेका बताएका हुन् । पत्रकार सम्मेलन गर्दे नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरेको छ ।

स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै खुला सीमाका कारण भइरहेको अनधिकृत आयात रोक्न संघले माग गरेको हो । संघका अनुसार गत वर्षको चिनी ५ हजार टन मौज्दात छ ।

‘गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौज्दात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराउँदछौं,’ संघले पत्रकार सम्मेलनमार्फत भनेको छ ।

खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको संघले जनाएको छ ।

चालु सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पर्न गई चिनी उद्योगहरू थप संकटमा पर्न जाने संघको भनाइ छ ।
मागभन्दा उत्पादन कम तर पनि बजारको अभाव

चिनी उद्योगहरूले आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ३८ हजार क्विन्टल उखु क्रसिङ्ग गरेका थिए । गत सिजनमा १ लाख ७८ हजार ७१७ टन चिनी उत्पादन भएको थियो ।

उद्योग संघका अनुसार चिनीको सरदर रिकभरी ९ प्रतिशत रहेको थियो । संघका अनुसार नेपालमा चिनीको कुल माग भने आन्तरिक उत्पादन भन्दा बढि देखिन्छ ।

वार्षिक माग करिब २ लाख ५० हजार टन रहेको छ । तर उत्पान भन्दा माग धेरै भएपनि नेपाली उद्योगीहरूले बजार पाउन मुस्किल भएको संघको तर्क छ । अहिले चालु आर्थिक वर्ष २०८१/०८२को क्रसिङ सिजन सुरु भयो । आन्तरिक उत्पादन करिब २ लाख २० हजार टन हुने प्रक्षेपण छ ।

किन हुन्छ तस्करी ?

‘हाम्रो माग भन्दा कम उत्पादन भएपनि भारतमा नेपालको भन्दा चिनी सस्तो भएकोले तस्करी हुँदा नेपाली चिनी बिक्री नहुने डर रहेको छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवाल भन्छन् ।

उनले अघि थपे, ‘भारतमा चिनी उत्पादनको लागत कम पर्छ, किनभने त्यहाँको चिनी उद्योगले चिनीसँगै इथानोल, विजुली, मल पनि उत्पादन गर्छ । सरकारले भ्याट छुट गरेको छ । उखुको लागत कम पर्छ तर हाम्रो यहाँ उत्पादन लागत नै धेरै पर्छ । त्यसैले बजार भाउ धेरै हुन्छ । अहिले भारतबाट चिनी तस्करी हुनुको कारण पनि मुख्य यहि हो ।’

संघका अनुसार तराईका अधिकांश ठूला चिनी गोदामहरूले अहिले नेपाली उद्योगसँग चिनी किनेका छैनन्, त्यसको कारण भारतबाट तस्करी भएर आएको चिनी नै हो ।

२३ कात्तिकमा लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा तस्करी भएर आएको चिनी । फोटो क्रेडिट : एपीएफ

संघले वार्षिक ४० हजार टन भन्दा बढी चिनी भारतबाट नेपालमा तस्करी गरेर पैठारी हुने अनुमान गरेको छ ।

‘औपचारिक च्यानलबाट आएको चिनी र नेपालमा उत्पादन भएको चिनीले यहाँको बजार पुग्दै पुग्दैन । तराईका ठूला गोदामहरूले नेपाली उद्योगीहरूले उत्पादन गरेको चिनी बेचेका छैन तर बोराका बोरा बजारमा आइरहेको छ । त्यसले नेपालमा तस्करीको चिनी कति आउँछ भन्ने कुरा देखाइहाल्छ,’ अग्रवाल भन्छन् ।

चिनी उद्योग संघका अनुसार नेपालमा १ लाख १५ हजार ७५५ उखु कृषक परिवार छन् । उखु उत्पादन क्षेत्रबाट ३० हजार ५३५ जना प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीमा रहेका छन् । नेपालमा १३ वटा चिनी उद्योगहरू रहेका छन् ।

नाकामा तस्कर सक्रिय

२३ कात्तिकमा रुपन्देहीको सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोली माथि एक समूहले आक्रमण नै गरेको थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पु¥याएको थियो । प्रहरीले भने तस्करहरूको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको दाबी गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्र्याई चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।

सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।

तर यो भने प्रतिनिधिमूलक घटना मात्रै हो ।

सीमा सुरक्षा र गस्तीको जिम्मा लिएको सशस्त्र प्रहरी बल (एपीएफ)ले पनि पछिल्लो समय चिनी तस्करहरू सक्रिय भइरहेको बताउँछ ।

‘हाम्रा कमाण्डरहरूलाई तस्करहरूलाई निस्तेज गर्न निर्देशन दिएका छौं, कहिँ कतै मिलेमतो भएको खण्डमा तत्काल कारबाही गर्छौं । तर खुल्ला सिमाना भएकोले लुकिछिपी तस्करी भइरहेको हुनसक्छ,’ एपीएफका प्रवक्ता डिआइजी हरि न्यौपाने भन्छन् ।

‘अहिले चिनी तस्करहरूको मनोबल बढेको जस्तो देखिन्छ, हाम्रो क्षमताले भ्याएसम्म निगरानी गरिहेका छौं । सीमा गस्ती गर्ने टोली तस्करी रोक्न, एक्सन लिन तयार भएर बसेको छ,’ न्यौपाने भन्छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x