दलमा निरंकुशता र सत्तामा स्वेच्छाचारिताको यात्रामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बने लगत्तै गृह र अर्थ मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग लगायतका केही विभाग, प्राधिकरण र निकायहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याए । दोस्रो पटक सत्तारोहणमा ओलीको यस प्रकारको सुरुवाती कदमले उतिबेला नै ओली सत्तामा एकल नियन्त्रण राख्न चाहन्छन् भन्ने विषयलाई संकेत गरेको थियो । उनले सत्ता सम्हालेको तीन बर्ष भित्र गरेका क्रियाकलापहरुले सत्तामा उनको स्वेच्छाचारिताको ग्राफ यसरी बढ्यो की ओली अब कसैलाई सुन्ने र पर्खने मनस्थितिमा छैनन् ।
संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि ल्याइएको संवैधानिक परिषद अध्यादेश र संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिले त्यसलाई पुष्टि गरिसकेको छ । संवैधानिक ब्यवस्थाको मर्ममाथि नै प्रहार गर्ने अध्यादेश ल्याउने र संविधानले अधिकार नै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्ने ओलीले सत्ता संचालनको विषयमा गर्ने निर्णयहरुको त लोकतान्त्रिक मापन गरिरहनु पर्ने देखिदैन् ।
यस बीचमा प्रधानमन्त्रीले सत्तामा देखाएको स्वच्छचारिता र मनपरीतन्त्र रोक्न प्रतिपक्षी दलको भूमिका निकै कमजोर रह्यो । सदनमा निकै तत्लो अंकगणितमा खुम्चिन पुगेको प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि सरकारका अलोकतान्त्रिक क्रियाकलापको विरोध प्रतिपक्षीको धर्म निर्वाह मात्र बन्यो । यही अवस्थामा ओली सत्ताको स्वच्छाचारिता रोक्न पार्टी भित्रबाट नै प्रयास सुरु भयो ।
तत्कालिन नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी वरिष्ट नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष एव प्रधानमन्त्री ओलीका क्रियाकलाप विरुद्ध सर्घषको एउटै मोर्चामा उत्रिन बाध्य भए । सत्तामा मात्र नभइ पार्टीमा समेत कब्जा जमाउदै गएका ओलीको एकलौटी गतिविधिमा प्रचण्ड नेपाल पक्षका विरोधमा त उत्रियो तर ओलीलाई सही बाटोमा ल्याउन सफल भने हुन सकेनन् । उल्टै सत्ता संचालनमा अवरोध सृजान गरेको भन्दै आफ्नै दलको झण्डै दुई तिहाई बहुमत रहेको प्रतिनिधिसभा विघटन गरी ओलीले प्रचण्ड र नेपालका लागि बालुवाटारको ढोका बन्द गर्दै उनीहरुलाई माइतिघर मण्डलाको सडकमा पुर्याउने काम गरे ।
यस बीचमा संसद पुनस्थापना गर्ने अदालतको फैसलाले प्रचण्ड र नेपाललाई माइतिघरबाट पुन संसद भवन भित्र ल्याइदियो तर संसद बैठक शुरु हुन नपाउँदै नेकपा नामको विवादमा अदालतबाट आएको अर्को फैसलाले नेकपालाई एकतापूर्वको अवस्थामा पुर्यायो । अदालतको यो आदेशपछि ओलीसँग लडन प्रचण्ड र नेपालको भर्खरै सुरु भएको प्रेम अन्त्तत् सहमतिको विछोडमा पुग्यो । जुन फैसलापछि ओली झन शक्तिशाली र निरंकुश बन्दै गएका छन् ।
अदालतको फैसलाले ओलीलाई २०७५ जेठ ३ अघिको तत्कालीन एमालेको अध्यक्षको हैसियतमा पुर्याएपनि सोही दलका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीबाट पाखा लगाउन हरप्रयासहरु ओलीले जारी राखेका छन् । ओली यतिवेला पार्टी भित्र आफ्ना विरोधि पन्छाएर दल कब्जा गर्ने रणनीतिमा ब्यस्त छन् । पार्टी भित्र निरंकुशता चलाउने दाउमा ओली लागिरहेको उनका पछिल्ला निर्णय र भनाइले पुष्टि गरेको छ । नेपाल खनाल पक्षलाई सहभागी नगराई पार्टीको विशेष बैठक बोलाइ पार्टी पदाधिकारी जिम्मेवारीबाट मुक्त गर्ने तथा केन्द्रिय कमिटीमा सदस्य थप्ने काम यस बीचमा ओलीले गरे ।
गत फागुन २८ को निर्णयबाट पार्टीको संसदीय दल र सवै कमिटीमा बुहमत पुर्याएपछि ओली चुप लाग्लानन् भन्ने सबैको अपेक्षा थियो । तर शनिवार समपन्न केन्द्रिय कमिटीको बैठकबाट संसदीय दलको विधान नै संशोधन गर्दै सांसदहरुलाई कारवाही गर्ने र हटाउनेसम्मका अधिकार ओलीले आफैमा केन्द्रीत गरेका छन् ।
यसबाट ओलीले एमालेलाई एकल स्वामित्वको ओली कम्पनीको रुपमा राख्न चाहेको प्रष्ट मात्र भएको छैन ओली नेपाल र खनालरहित एमाले चाहिरहेका छन् भन्ने विषय थप स्पष्ट पारेको छ । ओलीका यी गतिविधिले पार्टीमा निरंकुशता र सत्तामा स्वेच्छाचारिता अझ बढाउँदै लैजाने देखाउछ । नेपाल्बहस


