२ श्रावण २०८३, शनिबार

नेकपाको सचिवालय बिवादको थलो- पौडेल

एसीपी संवाददाता

५ मंसिर २०७७, शुक्रबार ०३:५८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन्।

पार्टीको ‘कोर अफ दि लिडरसिप’का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ। पार्टीको आन्तरिक जीवनमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशावट गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उनले बताए।

बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ।

त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु। यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृतवदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वाभाविक रुपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ।’

महासचिव पौडेलले आफ्नो अभिभारा सही ढंगले पूरा गर्न नसक्ने अवस्था आएको भए सामूहिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि बताए। उनले भने, ‘यदि हामी यो ढंगले भूमिका निर्वाह गर्न अक्षम र नसक्ने भएका हौँ भने स्थायी कमिटीका सदस्य समक्ष भनौँ। हामीले यति मात्रै गर्न सक्यौँ यो भन्दा बढी गर्न नसक्ने भयौँ। हाम्रो अभिभारा ठिक ढंगले पूरा गर्न नसक्ने भयौँ। त्यसैले तपाईंहरू जिम्मेवारी सम्हाल्नका लागि तयार हुनुस् हामी पदमुक्त हुन्छौँ।’

हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढंगले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उनले बताए। पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र संकटग्रस्त भएको उल्लेख गर्दै उनले जनता र नेता कार्यकर्ताहरुले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताए।

‘सीमाबाहिर, मर्यादा बाहिरका तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिऊन्। पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस्। त्यसका लागि अगाडि बढौँ भन्ने मेरो चाहना हो त्यसैअनुसार जिम्मेवारी पूरा गर्न चाहन्छु।’थाहाखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x