१६ भाद्र २०८३, मंगलवार

नेपालको दुःखमा भारतको साथ : नेपाली दूतावास पुगेर रक्षामन्त्री राजनाथ सिंहद्वारा समवेदना व्यक्त बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, खोज–उद्धार र पुनर्स्थापनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

एसीपी संवाददाता

१६ भाद्र २०८३, मंगलवार ११:४२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज ,भदौ १६ गते । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

रक्षामन्त्री सिंहले नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार तथा भारतीय जनताको तर्फबाट नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।

गत भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंहले प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीयलगायत अन्य विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति प्रार्थना तथा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
नेपाल र भारतबीचको सदियौँ पुरानो तथा घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै रक्षामन्त्री सिंहले भारत सधैं नेपालको सुख–दुःखको साथीका रूपमा साथमा रहेको बताएका छन्।

उनले कठिन परिस्थितिमा पनि भारत नेपाली जनतासँग काँधमा काँध मिलाएर उभिएको बताउँदै नेपालको खोज, उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्न भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

रक्षामन्त्री सिंहको नेपाली दूतावास भ्रमण र समवेदना व्यक्त गर्ने कार्यलाई विपत्तिको कठिन घडीमा नेपालप्रति भारतको ऐक्यबद्धता र मानवीय सहयोगको महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

फोटो : नेपाली दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारतका रक्षामन्त्री राजनाथ सिंह।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x