२०५८ वैशाखमा एसएलसी दिएपछि मेरो ध्यान पत्रकारितातर्फ मोडियो । एक दिन सूर्यलाल यादव, इद्रिस सायल र म विकसित भइनसकेको न्युरोड एरियाको भविष्य बोकेको खाली जमिनमा बसेर आफ्नै भविष्यका सम्भावना नापतौल गरिरहेका थियौँ । सूर्यलालले प्रस्ताव गरे, ‘चाचाजीकहाँ जाऔँ, किरण साप्ताहिकको प्रेस पास लिऊँ, काम पनि गरौँ ।’ हामी त्रिभुवनचोक, पूर्वलाइन पुग्यौँ । नजिकैको महेन्द्र पुस्तकालयमा चाचाजीसँग पहिलो भेट भयो, जुन पुस्तकालय उहाँको घरछेउ छ । चाचाकहाँ सूर्यलाल भने यसअघि पनि आइसकेका रहेछन् । मैले उहाँलाई पहिलोपटक देखेको पृष्ठभूमिसमेत बताएँ । त्यस क्रममा चाचाजीले नेपालगञ्जको पत्रकारितामा बाहिरी जिल्लाका मानिसहरूको संख्या उल्लेख्य बढे पनि बाँकेका स्थानीय र स्थायी बासिन्दाको संख्या अत्यधिक न्यून भएकोमा चिन्ता व्यक्त गर्नुभयो । र, हामीलाई किरणमा पत्रकारिता सिक्न कुनै समस्या नरहेको भन्दै हौसला प्रदान गर्नुभयो । त्यसपछि सूर्यलाल र इद्रिसहरू किरणमा जोडिए ।
म एसएलसी उत्तीर्ण भएपछि महेन्द्र बहुमुखी क्याम्पसमा आईएमा भर्नासँगै पत्रकारिताको आधारभूत तालिमपश्चात् नेपालगञ्ज एक्सप्रेस र टुडे नेपाल दैनिकमा पुगेँ । संस्थापक विष्णुप्रसाद श्रेष्ठ ‘टुटफुट र तोडफोड’ बाट तनावमा रहेछन् । आफ्ना जनशक्तिसमेत लिएर सम्पादक शिव डोटेलले अर्को प्रकाशनगृह सञ्चालन गरेकोमा निकै दुःखी सुनिएका उनले कार्यकारी सम्पादक तीर्थ हमाल ‘पथिक’ लाई साक्षी राखेर धेरै वाचाबन्धन गराएर मलाई पत्रिकामा आबद्ध गराए ।
नेपालगञ्जका सम्मानित एवं बौद्धिक पत्रकार हेमन्त कर्माचार्यले आफ्नो साप्ताहिक कालपृष्ठलाई दैनिकमा रुपान्तरण गरी सञ्चालन गर्ने योजना बनाएपछि सञ्चालकमध्येका एक एवं मेरा आदरणीय मित्र रुपन ज्ञवालीमार्फत म अर्को वर्ष कालपृष्ठमा आबद्ध भएँ । कालपृष्ठको कार्यालय त्रिभुवनचोकमै थियो । चाचाजीले किरण साप्ताहिकको प्रकाशनपूर्वको सबै काम त्रिभुवनचोकस्थित सन्देश कम्प्युटर इन्स्टिच्युटमा गराउनुहुन्थ्यो । कालपृष्ठको पनि स्क्यान, इमेल सेवालगायतका कतिपय काम त्यहीँ हुने हुनाले चाचाजीसँग नियमितजसो भेटघाट हुन थाल्यो । आस्थाको संस्था प्रेस युनियनका अग्रजसमेत हुनुभएकाले पनि चाचाजीसँगको निकटताले मलजल पायो । रक्सी भट्टीको छेउमा बस्दा गन्ध महसुस हुनु वा मसला उद्योगको छेउमा बस्दा बास्नाले प्रभावित हुनु स्वाभाविक हो । त्यसैगरी, चाचाजीसँगको निकटताले म उहाँको प्रकृतिको बास्नाबाट धेरथोर प्रभावित भएको छु भन्ने लाग्छ ।
मैले काठमाडौंस्थित हिमालय टाइम्स दैनिकका लागि पठाउने समाचार त्यही सन्देश कम्प्युटर इन्स्टिच्युटबाटै इमेल गर्थें । कहिलेकाहीँ चाचाजीले पत्रिकाका लागि सामग्री नपुगेको बताउँदा तिनै समाचार किरणमा पनि छापिएका छन् । तर, म औपचारिक रूपमा किरणमा आबद्ध भने भइनँ । यद्यपि, चाचाजीसँग निकटता बढ्दै गयो । जति निकट हुँदै गएँ, उहाँप्रतिको श्रद्धा झन्झन् बढ्दै गयो । मूलतः उहाँको सादगीले श्रद्धा बढाउँदै लग्यो । पत्रिका छपाइका लागि सन्देश कम्प्युटरबाट प्लेट बोकेर पैदलै छापाखाना पुग्ने, छापिएका पत्रिका बोकेर घर लैजाने र त्यहाँबाट कहाँकहाँ पुर्याउनुपर्ने हो, त्यो निश्चय गरी बोकेर फेरि पैदलै वा साइकल चढेर ग्राहककहाँ पुग्ने चाचाजीको दैनिकी मेरो आँखामा प्रायः छाइरहन्छ । आर्थिक अभावले उहाँले सबै काम आफै गरेको हो भन्ने मलाई लाग्दैन । सन्तान र दरसन्तानसमेत सक्षम र सुसम्पन्न भइसक्दा पनि उहाँको अनवरत एउटै दैनिकी दृढ इच्छाशक्ति र प्रतिबद्धताकै कारण सम्भव भएको हो भन्ने मेरो निष्कर्ष छ ।
नेपालको पत्रकारिता अवसर र चुनौतीको कसीमा कुन अवस्थामा छ र विगतमा कसरी अघि बढ्दै आयो भन्ने कुरा चाचाजीको जीवनले हामीलाई प्रस्ट पारिदिन्छ । पत्रकारिता देश र जनताको सेवा गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र हो भन्ने मात्र होइन, त्यसलाई कसरी ‘बखुबी’ निर्वाह गर्न सकिन्छ भन्नेबारे बहस र निष्कर्षका लागि पनि उहाँको जीवन एउटा विश्वविद्यालय बन्न सक्छ ।
प्रेस युनियनमा मेरो सक्रियता बढ्न थाल्यो । बाँके शाखाका सभापति पत्रकार सिराज खान अर्को आस्थाको संगठनमा प्रवेश गरेपछि लथालिङ्ग भएको संगठनलाई लिकमा ल्याउन अग्रजहरूले गरेको भूमिकाका अतिरिक्त मित्र वेदप्रकाश तिमिल्सैना र मैले गरेको प्रयासका क्रममा चाचाजीसँग निकै संवाद गरेका थियौँ । बाँके प्रेस युनियनका संस्थापक सभापतिसमेत रहनुभएकाले चाचाजी प्रेस युनियन बाँके क्रियाशील होओस् भन्ने स्वाभाविक चाहना राख्नुहुन्थ्यो । हामी सबैको प्रयासमा बाँके प्रेस युनियन पुनर्जागृत भयो । मेघराज ओलीको सभापतित्वमा गठित नयाँ कार्यसमितिमा म सचिवका रूपमा रहेँ । त्यसपछि चाचाजीले मप्रति थप माया र सद्भाव दर्शाउनुभएको मेरो अनुभव छ ।
अधिक तर कुर्ता सुरुवालमा छाँटिएर
नेपाली ढाका टोपी र पावरवाला चस्मा लगाउने
शरीर वृद्ध तर युवा जोस र जाँगरका धनी
जो आफैँ समाचार खोज्ने
लेख्थे, सम्पादन गर्ने
र प्रुफ रिडिङसम्म आफैँ गर्थे
कार्यालयबाट प्रिन्टिङ प्रेससम्म
र प्रिन्टिङपछि त्यही
साइकलको क्यारियरमा पत्रिका च्यापेर
घरघरसम्म पुग्ने त्यो जुझारु
‘अल इन वन’
प्रेस स्वतन्त्रताका सेनानी
पन्नालाल गुप्त
आदरणीय, समादरणीय र श्रद्धेय
चाचाजी ।
चाचाजीप्रतिको त्यही श्रद्धाले मैले उहाँप्रति समर्पित वृत्तचित्र निर्माणको सङ्कल्प लिएँ । किरणको कम्प्युटर टाइपिङको काम सन्देश इन्स्टिच्युटबाट बिहानी अफसेट प्रेस घरबारी टोल पुगेको थियो, जहाँ चाचाजी उही चिरपरिचित अन्दाजमा कुर्सी छेउमा बसेर ‘यसो गर उसो गर’ भन्नुहुन्थ्यो । किबोर्डमा सन्देश विश्वकर्माको हातको सट्टा हरि ज्ञवालीको हातले चाचाजीको आदेश पालना गरिरहेको हुन्थ्यो ।
त्यसबीच म कामको सिलसिलामा काठमाडौं आएँ । टुडे नेपाल र नेपालगञ्ज एक्सप्रेस त पहिले नै छुटेको थियो क्रमशः भेरी आवाज, भेरी एफएम र रेडियो हिमाल तथा कर्णालीको सन्देशको भूमिकासँगै कालपृष्ठ पनि छाडेर म काठमाडौंमा रेडियो नेपालको सिंहदरबार स्टुडियोमा पूर्णकालीन रूपमा काम गर्न थालेको थिएँ ।
चाचाजीको वृत्तचित्र बनाउने सङ्कल्प निकै बाधा र अवरोधका बीच पूरा गरेँ । त्यस क्रममा बाधा व्यवधानको चर्चा अर्को कुनै प्रसङ्गमा गरौँला । चाचाजीको त्यसमा मलाई नेपालगञ्जका धेरै आदरणीय व्यक्तित्वहरूले साथ दिनुभयो । उहाँ जीवित हुँदैमा नेपालगञ्जमा एक विशेष प्रदर्शनी गरेर श्रीमती गुप्ताको साथमा पन्ना चाचालाई राखेर ‘चाचाजी’ वृत्तचित्र प्रदर्शनी पनि गरेँ । वृत्तचित्रमा उहाँको समग्र जीवन, परिवार, पत्रकारितामा लागेका कारण खानु परेको हण्डर र ठक्कर, पत्रकार भएकै कारण राज्यबाट व्योहोरेको सास्ती र समाजले दिएको सम्मानबाहेक राजनीति र जनसेवामा उहाँको योगदान पनि समेट्ने प्रयास गरिएको छ ।
नेपालको पत्रकारिता अवसर र चुनौतीको कसीमा कुन अवस्थामा छ र विगतमा कसरी अघि बढ्दै आयो भन्ने कुरा चाचाजीको जीवनले हामीलाई प्रस्ट पारिदिन्छ । पत्रकारिता देश र जनताको सेवा गर्ने एउटा महत्त्वपूर्ण क्षेत्र हो भन्ने मात्र होइन, त्यसलाई कसरी ‘बखुबी’ निर्वाह गर्न सकिन्छ भन्नेबारे बहस र निष्कर्षका लागि पनि उहाँको जीवन एउटा विश्वविद्यालय बन्न सक्छ । किनभने उहाँले सधैँ स्पष्ट भन्नुभएको छ, ‘मैले पैसा कमाउन पत्रकारिता गरेको होइन, हाम्रा लागि त पत्रकारिता त्याग र बलिदानको पक्ष हो ।’ उहाँहरूले खनेको नेपालगञ्जको पत्रकारिताको गोरेटोबाट राजमार्गमा पहुँच स्थापित गर्न सकेकोमा म गौरवान्वितमात्र छैन, चाचाजी र उनका समकालीनहरूप्रति आभारी पनि छु ।
चाचाजी कमजोरीरहित मानिस थिएनन् । उनका पनि मानवजन्य विभिन्न कमजोरी रहे होलान् । आलोचकहरूले त्यसलाई विभिन्न तवरले उठाएका छन् नै । तैपनि मलाई उनी अग्ला मानिस लाग्दछन् । चाचाजीसँगका अनेक प्रसङ्ग छन् । संक्षेपमा चाचाजीका कलम, साइकल र ढाकाटोपी मलाई कृष्णप्रसाद भट्टराईको ट्याङ्का, छाता र सूरहीजस्तै लाग्छ । चाचाजीले हामीलाई छाडेर गएको पनि ५ वर्ष भइसकेको छ । तर पनि उहाँको सान्निध्यता म आज पनि उस्तै महसुस गरिरहेको छु । उहाँहरूले अनेकौँ बाधाबीच अघि बढाएको पत्रकारितालाई गुणात्मक र गुणस्तरीय बनाउन सक्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
(पत्रकार रेग्मी प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तबारे वृत्तचित्र ‘चाचाजी’ का निर्देशक पनि हुन् ।) सन्तोष रेग्मीको सहयोग बाट