बाँकेका सञ्चारकर्मी पवन जायसवालद्वारा १०९ औं पटक रक्तदान
बाँके – पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणमा क्रियाशील बाँकेका अग्रज सञ्चारकर्मी तथा शतक रक्तदाता पवन जायसवालले १०९ औं पटक रक्तदान गर्नुभएको छ।
विरामीहरूलाई रगतको अभावका कारण अस्पतालका शय्यामा छटपटाउन नपरोस् भन्ने उद्देश्यका साथ निरन्तर समाजसेवामा तल्लिन जायसवालले बाँके जिल्लाको कोहलपुर नगरपालिका–९, हवलदापुरस्थित कौशल्या मेमोरियल हस्पिटलद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई १०९ औं पटक रक्तदान गर्नुभएको हो।
‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नारालाई आत्मसात् गर्दै उहाँले लामो समयदेखि कलमका साथसाथै सामाजिक अभियान र जीवनरक्षाको कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ। पत्रकारितामार्फत विकृति-विसङ्गतिविरुद्ध आवाज उठाउनुका साथै आपत्कालीन अवस्थामा रहेका बिरामीहरूका लागि स्वयं उपस्थित भई रगत उपलब्ध गराउने कार्यमा उहाँ सधैँ अग्रपंक्तिमा रहँदै आउनुभएको छ।
अस्पताल तथा विभिन्न सङ्घ-संस्थाहरूले उहाँको यो नि:स्वार्थ सामाजिक योगदान र मानव सेवाप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक आभार व्यक्त गरेका छन्। सञ्चारकर्मी जायसवालको यो निरन्तरको कार्यले समाजका अन्य युवा तथा नागरिकहरूलाई पनि रक्तदानजस्तो पवित्र कार्यमा सहभागी हुन ठूलो प्रेरणा मिलेको छ।


