नेपालगञ्जको त्रिभुवन चोकमा हर्षोल्लासका साथ मनाइयो परम्परागत ‘गुड़िया’ पर्व
रिसब सिंह बाडिया
नेपालगञ्ज, भदौ १ गते — नेपालगन्जको ऐतिहासिक व्यापारिक केन्द्र त्रिभुवन चोकस्थित पूर्वलाइन (एनआईसी एशिया बैंक नजिक) क्षेत्रमा आज हर्षोल्लासका साथ पारम्परिक गुडिया पर्व मनाइएको छ। विशेष गरी मधेशी समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा गुडिया पर्वको रौनकले बजारलाई झकिझकाउ बनाएको थियो। 
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीको अवसरमा मधेशी र थारु समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। यस दिन विशेषगरी ससाना नानीबाबुहरूको दीर्घायु, स्वास्थ्य र प्रगतिको कामना गर्दै दिदीबहिनीहरूले आफ्ना दाजुभाइ तथा परिवारको सुख-समृद्धिको प्रार्थना गर्ने चलन रहिआएको छ। 
यस पर्वको अवसरमा गाउँघर तथा टोलका बालबालिकाहरू निकै उत्साहित देखिएका थिए। लत्ताकपडाबाट बनाइएका गुड्डिन (गुड़िया) हरूलाई बालिकाहरूले सामूहिक रूपमा चोकमा लगेर राखेका थिए भने बालकहरूले तिनलाई लठ्ठीले पिट्ने परम्परा अनुसार पिट्ने गरेका थिए। 
सांस्कृतिक परम्परा अनुसार वर्षौंदेखि मनाइँदै आएको यस पर्वले समुदायमा आपसी भाइचारा र मेलमिलापको भावना अभिवृद्धि गर्ने स्थानीयहरूको विश्वास छ। ‘गुरही’ वा ‘गुड़िया’ का रूपमा परिचित यो पर्व विशेषगरी तराई-मधेशका क्षेत्रमा बालबालिकाहरूले निकै चाखका साथ मनाउने गर्दछन्। आज दिनभरि नै नेपालगञ्जका विभिन्न स्थानमा बालबालिकाहरू गुड़िया खेल्दै पर्वको मज्जा लिइरहेका देखिन्थे। 
पर्वको अवसरमा यस क्षेत्रका पसलहरूमा समेत चहलपहल बढेको थियो भने युवाहरूले एकै ठाउँमा जम्मा भएर खुसी साटासाट गर्दै पर्वलाई उत्सवको रूपमा मनाएका थिए। नेपालगन्ज जस्तो साम्प्रादायिक सद्भावले भरिपूर्ण सहरमा विभिन्न जातजातिका चाडपर्वहरू यसरी उल्लासका साथ मनाइनुले यहाँको सांस्कृतिक विविधता र पहिचानलाई अझ मुखरित गरेको छ।



