नेपालगञ्जमा पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सवकाे अवसरमा दिपप्रज्वलन
नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सवको अवसरमा सोमबार नेपालगन्जमा शुभेच्छुकहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको छ। रा प्र पा बाँके , रा प्र पा नेपाल बाँकेको आयोजनामा त्रिभुवन चोकमा माल्यार्पण र मैनबत्ती प्रज्वलन गरी जन्मोत्सव मनाइएको हो।
कार्यक्रममा ५० भन्दा बढी शुभेच्छुकहरूको उपस्थिति रहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रजनीश बजापयीले जानकारी दिए। उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहप्रति जनताको माया र सम्मान अझै कायम छ, जुन आजको सहभागिताले स्पष्ट हुन्छ।
कार्यक्रममा सहभागीहरूले पूर्वराजाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै देशमा शान्ति र समृद्धिको अपेक्षा व्यक्त गरे। त्रिभुवन चोकमा आयोजित कार्यक्रमले स्थानीय स्तरमा पूर्वराजाप्रतिको सम्मान र स्नेहलाई झल्काएको अध्यक्ष रजनीश बजापयीले बताए ।
नेपालमा २०६५ जेठ १५ मा गणतन्त्र स्थापनापछि राजसंस्था खारेज भए पनि पूर्वराजा शाहले हरेक वर्ष आफ्नो जन्मोत्सवमा शुभेच्छुकहरूसँग भेटघाट गर्दै आएका छन्।


