१ श्रावण २०८३, शुक्रबार

नेपालगञ्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने

एसीपी संवाददाता

११ आश्विन २०८१, शुक्रबार ११:०३ मा प्रकाशित

नेपालगञ्ज । नजिकिएका चाडपर्वहरुलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको छ ।

दशैं, तिहार, छठ लगायत नेपालीहरुका महान चाडपर्वहरुलाई लक्षित गरी नेपालगञ्जको चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरुमा नवरात्र शुरु हुनु अगाडि नै वन-वे (एकतर्फी बाटो) सञ्चालन गर्ने निर्णय गरेको छ ।

गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किँदा त्रिशक्ति मार्गबाट मात्र फर्किन गरी वन-वे बाटो सञ्चालन गर्ने निर्णय भएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीले एकआपसमा समन्वय गरेर काम गर्नेछन् ।

यसैगरी नेपालगञ्जको मुख्य बजारभित्र सञ्चालन हुने ठेला, इ-रिक्सा लगायत अन्य सवारी साधन ट्राफिक अवरोध नहुने गरी प्रचलित ट्राफिक नियम अनुसार सञ्चालन गर्ने गराउने, ट्राफिक प्रहरी कार्यालयले नेपालगञ्ज उद्योग बाणिज्य संघसँग समन्वय गरी त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म तीन-तीन दिन पालो गर्ने गरी वन-वे बाटो चलाउन पहल गर्ने, सार्वजनिक बाटोमा यत्रतत्र निर्माण सामग्री राखी बाटो अवरुद्ध गर्ने र ट्राफिक व्यवस्थापनमा असहजता उत्पन्न गराउने कार्यलाई निरुत्साहित गर्ने, निर्माण लागयतका अन्य सामग्री बाटोमा राख्न नदिने सडकपेटी फुटपाथ तलदेखि माथिसम्म पूरै खाली गर्ने लगायतका निर्णय भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले चाडबाडका बेला हुने भिडभाड र ट्राफिक चापलाई ब्यवस्थित गर्ने गरी विभिन्न निर्णयहरु गरेर कार्यान्वयनमा अघि बढेको बताउनुभयो ।

सवारी साधनबाट जहाँसुकै यात्रु चढाउने र ओराल्ने कार्य गर्दा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई निरुत्साहित गर्ने, सडकका छाडा पशुचौपायालाई शनिबारको दिन नियमित काञ्जी हाउस पुर्याउँदै आएकोमा त्यसलाई निरन्तरता दिने, चाडपर्वका बेला बजार क्षेत्रमा अनुगमनलाई सघन बनाउँदै उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवा उपलब्ध गराउन सरोकारवाला सबै सक्रिय हुने निर्णय पनि गरिएको नगर प्रहरी प्रमुख बोगटीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x