नेपालगन्जमा धार्मिक सदभाव र्याली, अर्कोतर्फ सनातनी युवाहरूको मौन प्रदर्शन: मृतकलाई न्याय र निष्पक्ष छानबिनको माग
नेपालगन्ज, साउन १६ :
सुनसरी र सिरहामा हालै घटेका घटनाहरूको विरोध र त्यसबाट सिर्जित तनावपछिको अवस्थालाई मध्यनजर गर्दै आज बाँकेको नेपालगन्जस्थित वीरेन्द्र चोकमा एकतर्फ धार्मिक सद्भाव र्याली निकालिएको छ भने अर्कोतर्फ सनातनी युवाहरूले विभिन्न मागसहित शांति पूर्ण मौन प्रदर्शन गरेका छन्। 
सद्भाव बिथोल्ने गतिविधिहरू हुन नदिन आज शनिबार नेपालगन्जमा नागरिक समाज, युवा तथा विभिन्न वर्गले नेपालगन्जको वीपी चोकदेखि वीरेन्द्र चोकसम्म निकालिएको सद्भाव र्यालीमा शान्ति र आपसी सहिष्णुताको अपिल गरिएको छ। सोही क्रममा सनातनी युवाहरूले भने कडा शब्दमा विभिन्न मागहरू अगाडि सार्दै शांति पूर्ण मौन प्रदर्शन गरेका छन्। 
सनातनी युवाहरूको प्रमुख माग सुनसरी र सिरहामा घटेका घटनाहरूको तत्काल र निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने। घटनामा ज्यान गुमाएका मृतकहरूलाई न्याय दिनुपर्ने। सनातनीहरूको चाडपर्व, संस्कृति र आस्थामाथि भइरहेका आक्रमण तथा हस्तक्षेप कहिलेसम्म भन्दै प्रश्न उठाइएको छ। डिजे र लाउडस्पीकरका कारण उत्पन्न हुने विवादलाई अन्त्य गर्न सार्वजनिक स्थानमा (D.J.) र लाउडस्पीकरको प्रयोग दुवै पक्षका लागि पूर्ण रूपमा बन्द गरिनुपर्ने माग गरिएको छ।
सुनसरीको देवानगन्ज र सिरहाको घटनापश्चात देशका विभिन्न भाग जस्तै नेपालगन्जमा पनि साम्प्रदायिक सद्भाव बिथोलिन नदिन स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ। सर्वपक्षीय बैठकका निर्णय अनुसार सार्वजनिक स्थलमा चर्को आवाजमा डिजे बजाउन रोक लगाइएको छ भने सुरक्षाकर्मीहरूले वीरेन्द्र चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन्।

विडियो लिंक 🔗 — 0050545b-fdb0-4193-abea-9c39887ae5b3


