नेपालगन्जमा बालबालिकालाई काममा लगाउने स्पा सञ्चालकहरू प्रहरी नियन्त्रणमा, पीडित बालिकाको उद्धार
नेपालगन्ज, बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेले उमेर नपुगेका बालबालिकालाई गैरकानूनी रूपमा काममा लगाउने तीनवटा स्पाका सञ्चालकहरूलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८३ साल साउन ६ गते नेपालगन्जमा केही स्पाले बालबालिकालाई गैरकानूनी रूपमा काममा लगाएको भन्ने सुराकीको आधारमा प्रहरी टोली खटिएको थियो। सोही क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० आर्दशनगरस्थित ‘न्यू प्लेजर स्पा’ की सञ्चालिका भारतीय नागरिक गुदिया खान, ‘आयुर्वेदिक रिल्याक्स स्पा’ की सञ्चालिका दुर्गा थारू र वडा नं. २ न्युरोडस्थित ‘रिल्याक्स स्पा’ का सञ्चालक तर्कराज देवकोटाले विभिन्न उमेरका बालिकालाई गैरकानूनी रूपमा काममा लगाएको पाइएको हो।
प्रहरीले पीडित बालिकाको सकुशल उद्धार गर्नुका साथै उक्त गैरकानूनी कार्यमा संलग्न सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि सम्मानित बाँके जिल्ला अदालतबाट ‘बालबालिका सम्बन्धी ऐन, २०७५’ बमोजिम म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभएको छ।


