नेपालगन्जमा २ लाख बढीको अवैध भन्सार छलीका सुर्ती र पेय पदार्थ बरामद
नेपालगन्ज, ३१ साउन — बाँकेको नेपालगन्जबाट प्रहरीले लाखौँ मूल्य बराबरको भन्सार छलीका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० क्षेत्रबाट अवैध रूपमा पैठारी गरिएका सुर्तीजन्य पदार्थ र पेय पदार्थहरू नियन्त्रणमा लिइएको हो।
मिति २०८३ साल साउन ३१ गतेका दिन तस्करी गरी भन्सार छली ल्याइएका विभिन्न सुर्तीजन्य वस्तुहरू तथा ‘माउन्टेन ड्यू’ नामक पे पदार्थसहित कुल अन्दाजी रू. २,१६,६००।– (दुई लाख सोह्र हजार छ सय) बराबरका सामानहरू फेला परेका हुन्।
प्रहरीले शङ्कास्पद रूपमा लुकाइछिपाइ ल्याइएका ती सामानहरूलाई तत्काल नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण मालसामानहरू आवश्यक कारवाही तथा कानुनी प्रक्रिया अगाडि बढाउनका लागि भन्सार कार्यालय, नेपालगन्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिनुभएको छ।


