नेपालगन्ज-नयाँ दिल्ली उडान’ : एयर रुटको उल्झन
बसन्त कुमार उपाध्यय नेपालगन्ज –
हवाई विन्दुहरु ब्राबो ३४५,गल्फ ५८९, रोमियो ५८१ अन्तरगत नेपाल प्रवेश गर्ने विमानलाई रुट उपलब्ध छ । यी रुटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रयोग गर्ने व्यवस्था मिलाउँछ। वि.सं.२०७३ सालको पुसमा हवाई प्रवेश विन्दु सम्बन्धी विषयमा भारतको कोलकातामा २ देशका अधिकारीहरुको बैठक सम्पन्न भएको थियो । फेरी २०७४ असोजमा बस्ने भनिएको बैठकमा नेपाली टोलीले चुनावका कारण सहभागिता जनाउन सकेको थिएन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैतमा भारत भ्रमण गर्दा नरेन्द्र मोदीसँग यो विषय उठाएको विषय स्मरण गरौं ।त्यस लगत्तै २ असार २०७५ मा नेपाल नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं–विराटनगर र काठमाडौं–जनकपुर रुटलाई दुईतर्फी बनाउने र अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगन्ज र महेन्द्रनगरबाट हवाई रुटसहित प्रवेशमार्ग दिने सम्बन्धमा विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सक्ने सहमति भएको थियो । उडान सुरक्षा मूल्यांकन विषयलाई निष्कर्षमा पुर्याउने लक्ष्यका साथ नेपाली प्रतिनिधि मण्डल भारतको दिल्ली पुगेका थिए ।
तर एयरपोर्ट अथोरिटी अफ इन्डियाले हवाई रुट थप्ने सहमति कार्यान्वयन गर्न नसक्ने बताएको थियो । नेपालका पश्चिम रुटहरुका बारेमा नेपाल-भारत सिमा नजिक रहेका भारतीय सेनाका सुरक्षा बेस रहेका कारण समेत भारत सामरिक दृष्टिकोणले अनिच्छुक देखिन्छ । सन् २०२५ जुलाई २८ देखि १ अगस्तमा जापानमा भएको नागरिक उड्डयन महानिर्देशकहरूको ६०औं सम्मेलनका क्रममा नेपालबाट प्रतिनिधित्व गरेका महानिर्देशक प्रदीप अधिकारी र भारतका महानिर्देशक फैज अहमद किदवईबीच द्विपक्षीय बैठक सम्पन्न भयो। वार्तामा दुवै देशका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्ग समन्वय र सञ्चालनमा भारतको सहयोगका लागि आग्रह गरिएको थियो। साथै आर्थिक आम्दानीको श्रोतका रुपमा भारतीय आकाश प्रयोग गरेकोमा वायुसेवा कम्पनीले बुझाउने नेभिगेसनसहितका अन्य सेवा शुल्क रकम समेत भारतले बुझ्नेगर्दछ ।


