नेपालगन्ज ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनल खेल सम्पन्न
नेपालगन्जमा शनिवारदेखि नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको
छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जको सहआयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको वडाध्यक्ष बिरेन्द्र बहादुर शाह र नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रशिक्षक जयन्त कुमार श्रेष्ठ तथा प्राबिधिक बाबुराम साहुलाई खेल सामाग्री हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो । शनिवार चार वटा ईभेन्टका विभिन्न खेल सकिंदा पुरुष युगल इभेन्ट्स तर्फको सेमिफाईनल समिकरण पुरा भएको छ । क्वाटर फाईनलमा अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडीले राजेश साउद र सुमित चन्दको जोडीलाई २–० को सोझो सेटले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेका छन् । त्यसैगरी प्रकाश के सी र सुभाष सुबेदीको जोडीले राम कुमार शाह र धनञ्जय खड्काको जोडीलाई २–१ सेटमा पराजित गर्दै सेमि फाइनल पुगेका छन् । कृष्ण सलामी र शिव सुनारको जोडीले ओम चालिसे र टेक बहादुर रोकायको जोडीलाई २–१ को सेटले पराजित गर्दै सेमिफाईनल पुगेका छन भने देव बहादुर बोहोरा र प्रकाश के सीको जोडीले सचिन चौधरी र विकाश चौधरीको जोडीलाई २–१ सेटले पराजित गर्दै सेमीफाईनलमा पुग्न सफल भए । प्रतियोगिताको पुरुष एकल, महिला एकल, पुरुष एकल लिगका खेलहरु जारी रहेका छन् । प्रतियोगीताको सेमीफाईनल र फाईनल खेल आईतबार हुने प्रतियोगीताका संयोजक जयन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगीतामा पुरुष युगल तर्फ ४० वटा टिम, पुरुष एकलतर्फ २४ जना र महिला एकलतर्फ १३ जनाले प्रतिस्पर्धा गरेका छन् । पुरुष डबल्समा प्रथम हुने जोडीलाई नगद रु. १० हजार, दोश्रो हुनेलाई ६ हजार र तेस्रो स्थान हासिल गर्ने जोडीलाई ३ हजारसहित कप, पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकका तर्फ बाट जयन्त कुमार श्रेष्ठ प्रतियोगीता संयोजकले बताउनु भयो ।



