नेपालगन्ज वडा नं. १० लाई बालमैत्री वडा बनाउने अभियान तीव्र: दुई दिने अभिमुखीकरण सम्पन्न
नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० वडा कार्यालयको समन्वयमा सहयात्री नेपालद्वारा आयोजित दुई दिने बालमैत्री स्थानीय शासन (CFLG) अभिमुखीकरण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ।
वडा कार्यालयको सभाहलमा सञ्चालित उक्त कार्यशालामा वडा बालमैत्री स्थानीय शासन समिति, बाल अधिकार समिति, बाल क्लबका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यशालाले बालमैत्री स्थानीय शासन कार्यान्वयन प्रक्रिया, यसका चरणहरू, मुख्य सूचकहरू र बालमैत्री समुदाय निर्माणमा सरोकारवालाहरूको भूमिकाबारे सहभागीहरूको बुझाइलाई अझ सुदृढ बनाएको छ।
कार्यक्रममा बाल अधिकार र स्थानीय शासनका विभिन्न पक्षहरूमाथि विस्तृत छलफल गरिएको थियो। सत्रहरूको सहजीकरण सहयात्री नेपालकी अध्यक्ष श्री श्वेता गुरुङ, बाल अधिकारकर्मी श्री ऋतिक शाही र श्री देवा बहादुर क्षेत्रीले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले एक प्रतिबद्धता-पत्रमा हस्ताक्षर गर्दै आगामी २०८३ फागुन १५ (२७ फेब्रुअरी २०२७) सम्ममा नेपालगन्ज वडा नं. १० लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने साझा लक्ष्यप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः जाहेर गरेका छन्। 





