३० कार्तिक २०८३, आईतवार

नेपालगन्ज वडा नं. ८ का ज्येष्ठ नागरिकलाई भत्ता नवीकरणमा सहजता: वडाध्यक्ष वाजपेयीको पहलको चौतर्फी प्रशंसा

एसीपी संवाददाता

२१ श्रावण २०८३, बिहीबार १९:०८ मा प्रकाशित

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिकहरूको भत्ता नवीकरण कार्य अत्यन्तै सहज र प्रभावकारी बनेको छ। वडाध्यक्ष रजनीश वाजपेयीको विशेष पहल र सक्रियताका कारण वडावासी ज्येष्ठ नागरिकहरूले सास्ती नभई सहज, छिटो र सरल तरिकाले भत्ता नवीकरण गर्न पाएका छन्।

यसअघि विभिन्न वडा तथा स्थानहरूमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न र लामो लाइन बस्न बाध्य हुने ज्येष्ठ नागरिकहरूले वडा नं. ८ मा भने यो सास्तीबाट पूर्ण रूपमा मुक्ति पाएका छन्। वडा कार्यालयबाटै सेवाग्राहीमैत्री वातावरण सिर्जना गरी सहज ढङ्गले कागजी प्रक्रिया पूरा गरिदिने व्यवस्था मिलाइएपछि वृद्धवृद्धाहरू खुसी भएका छन्।

“पहिले भत्ता नवीकरण गर्न कार्यालय धाउँदा धेरै सास्ती हुन्थ्यो, तर यस पटक वडाध्यक्ष बाबुले हामी बूढाबूढीलाई कुनै कष्ट नहुने गरी सहजै काम गरिदिनुभयो,” एक स्थानीय ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्दै बताए।

वडाध्यक्ष रजनीश वाजपेयीले निर्वाचित भएदेखि नै वडावासीहरूको दैनिक जनजीवनलाई सहज बनाउन विभिन्न लोककल्याणकारी तथा प्रभावकारी कदमहरू चाल्दै आउनुभएको छ। ज्येष्ठ नागरिकहरू समाजका धरोहर हुन् भन्ने भावनालाई आत्मसात गर्दै उहाँले उनीहरूलाई लाइनमा उभ्याउने झन्झटबाट मुक्त गर्न विशेष कर्मचारी खटाएर सेवालाई सहज बनाउनुभएको हो।

उहाँको यो जनपक्षीय र सेवाभावयुक्त कामको वडावासी तथा स्थानीय बौद्धिक वर्गले उच्च प्रशंसा गरेका छन्। स्थानीय सरकार जनताको घरदैलोमा छ भन्ने अनुभूति वडा नं. ८ का बासिन्दाले प्रत्यक्ष रूपमा महसुस गर्न पाएका छन्।

वडाध्यक्ष वाजपेयीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायहरूको सेवा गर्नु आफ्नो मुख्य कर्तव्य भएको बताएका छन्। आगामी दिनमा पनि वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरूलाई अझ बढी पारदर्शी, छिटो–छरितो र जनमुखी बनाउँदै लगिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

वडा नं. ८ मा देखिएको यो व्यवस्थापन र अध्यक्ष वाजपेयीको सक्रियता अन्य वडाका लागि समेत सिकाइको पात्र बनेको स्थानीयले बताए ।    

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x