११ आश्विन २०८३, आईतवार

नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप , कम्युनिस्ट जोडने नीति

एसीपी संवाददाता

१३ चैत्र २०८०, मंगलवार ०८:३४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाइसकेपछि गत शुक्रबार अर्थात् फागुन २५ गते चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हैयानले चीनस्थित नेपाली राजदूत डा. विष्णु पुकार श्रेष्ठलाई भेटेर नेपालको सरकारको बारेमा चासो लिएकी छिन् ।
नेपालमा गठन भएको सरकारको बारेमा चिनियाँ अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री हैयानले चासो लिएको राजदूत श्रेष्ठले बताए।
गठबन्धन सरकारको वर्तमान अवस्था र भविष्यलगायतको विषयमा राखेको जिज्ञासामा आफूले राजनीतिक दलहरूको बिचमा भएका सकारात्मक समझदारीले नै सरकार गठन भएको बताएको उनले बताए ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको वेबसाइटमा राखिएको छोटो प्रेस नोटमा हैयानले भनेकी छिन्, ‘चीन र नेपाल असल छिमेकी र असल मित्र हुन् । पछिल्ला वर्षहरूमा दुई देशका नेताहरूको नेतृत्वमा चीन–नेपाल विकास र समृद्धिका लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारी बलियो र गहन वृद्धि भएको छ ।’

‘जुनसुकै दलको सरकार बने पनि चीनले नेपालको स्थायित्व चाहेको र हरेक दलसँग सहकार्य गरेर अगाडि बढ्ने गरेको छ,’ राजदूत श्रेष्ठले भने ।
चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका राजनीतिक दलहरूसँगको सहकार्य तथा सहयोग आदान–प्रदानलाई थप सुदृढ गर्ने उल्लेख गर्दै उनले दुवै देशको शासन प्रशासनलगायतका विषयमा अनुभवको आदानप्रदान गर्दै चीन–नेपाल सम्बन्धलाई निरन्तर विकासका लागि अघि बढाउन इच्छुक रहेको बताएकी छन् ।

राजदूत श्रेष्ठले भने, ‘चीनले वाम गठबन्धनप्रति अलिकति बढी झुकाव राख्नु स्वाभाविक नै हो तर यसको मुख्य चासो नेपालका हरेक दलसँग समदुरीको सम्बन्ध नै राख्ने रहेको छ ।’ पछिल्लो समय नेपालका हरेक दलसँग सम्बन्ध बनाउन चीन सक्रिय रहेको र नेपालका विभिन्न राजनीतिक दलका नेताहरूलाई चीनको भ्रमण गराइसकेको उनको भनाई छ । उनले अझै थुप्रै नेता तथा अन्य क्षेत्रका व्यक्तित्वहरूलाई चीन भ्रमण गराउने तयारी गरिरहेको उनले बताए ।

गत जनवरीमा उपमन्त्री हैयानले नेपालको भ्रमण गरेकी थिइन् । त्यसबेला पनि उनले हरेक दलका नेताहरूसँग सामूहिक रूपमा भेटेर अन्तरसंवाद गरेकी थिइन् ।

उपमन्त्री हैयानले राजदूत श्रेष्ठलाई भेटेको अघिल्लो दिन यता काठमाडौँमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ तथा अर्थमन्त्री वर्षमान पुनलाई भेटघाट गरी शुभकामना तथा बधाई दिएका थिए ।
‘जुनसुकै दलको सरकार बने पनि चीनले नेपालको स्थायित्व चाहेको र हरेक दलसँग सहकार्य गरेर अगाडि बढ्ने गरेको छ,’ राजदूत श्रेष्ठले भने, ‘नेपालमा सरकार गठनका लागि चीनको कुनै चासो हुँदैन तर यसलाई अनदेखा पनि गरेको हुँदैन ।’

अन्तर्राष्ट्रिय विभागको प्रेस नोटमा राजदूत श्रेष्ठले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि चिनियाँ पक्षले गरेको सहयोगको प्रशंसा गरेको उल्लेख छ । नेपाल एक चीन सिद्धान्तप्रति दृढताका साथ प्रतिबद्ध रहेको र चिनियाँ पक्षसँगको अन्तर–दलीय आदानप्रदान र सहकार्यलाई सुदृढ गर्न तत्पर रहेको उनले बताएका छन् ।

फागुन २६ गते चिनियाँ जनमुक्ति सेनाको इन्टरनेशनल मिलिटरी कोअपरेशनका उपप्रमुख मेजर जेनरल झाङ बाओगुन नेतृत्वमा एक टोली नेपाल भ्रमणमा आएका छन् । उनीहरूले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटेका छन् । अन्य उच्च स्तरीय भेटघाट गरी पोखरा र लुम्बिनीको भ्रमण गरी आज उनीहरू फर्किएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x