प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले पुराना जहाज थन्काएर नयाँ किन्ने खेल भइरहेको र त्यो कमिसनका लागि भएको उल्लेख गरे ।
उनले वर्तमान पर्यटनमन्त्री सुदन किराँतीको तीव्र आलोचना गर्दै निगम डुबाउने खेल भइरहेको बताएका छन् । लकरमा गोली राख्ने ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको प्रति पनि उनले सरकारको जवाफ माग गरेका छन्।
सांसद खतिवडाले संसदमा राखेको मन्तव्यको सम्पादित अंश
नेपाल एयरलाइन्समा नेपाल सरकारले २० अर्ब लगानी गरेको देखिन्छ । अहिले निगम ४८ अर्बभन्दा बढी घाटामा, ऋणमा डुबेको छ । सावाको त कुरै छोडौँ, चार वर्षदेखि ब्याज समेत तिर्न सकेको छैन ।
वाइडबडी र न्यारोबडीको ३४ अर्बको ब्याज अहिलेसम्म तिर्न सकेको छैन, जुन संचय कोष र नागरिक लगानी कोषबाट लिइएको हो ।
निगममा भएका चारवटा जहाजमध्ये दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी घाटामा छन् । निगमले आन्तरिक उडानका लागि ६ वटा चिनियाँ जहाज लिएको थियो। ती ६ वटा चिनियाँ जहाज तत्कालीन अवस्थामा झन्डै ८ अर्ब रुपैयाँमा लिइएको हो ।
तर, अहिले लिलाममा राख्दा ३८ करोडमा विक्री हुन सकेका छैनन् । एउटा ट्वीनटर विग्रेर थन्किएर बसेको छ । निगममा स्थायी, अस्थायी कर्मचारी १२ सय छन् । आउटसोर्सीङ ८ सय कर्मचारी छन्। अहिले पनि वर्तमान पर्यटनमन्त्री (किराँती) ले ६५ जना कर्मचारीलाई करार र ज्यालादारीमा नियुक्ति गर्नुभएको छ । हाजिर गरेपछि कहाँ जाने, के गर्ने टुंगो छैन। हाजिर गरेपछि पुग्नेगरी नियुक्ति गरिएको छ ।
यी तथ्यांक बाबजुत पनि पर्यटनमन्त्री नयाँ विमान किन्ने भनेर लाग्नु भएको छ । अब नेपाल एयरलाइन्सलाई कहाँ पु्र्याउने हो सोच्नुपर्ने भइसकेको छ ।
क्यानडाबाट तीनवटा ट्वीनटर ल्याउने निर्णय भएको छ । वायु सेवा निगमको आफ्नै समितिले अहिले हामी ल्याउन सक्ने अवस्थामा छैनौ, यी जहाज अहिले उत्पादन हुन छोडिसकेका छन् भनेर रिपोर्ट दिँदा पनि एक महिना अगाडि टेण्डर आह्वान भएको छ । समितिले अनक्वालिफाइट भनिसकेको छ । ३०० जी भन्ने जहाज अहिले उत्पादन बन्द भइसकेको छ । त्यसलाई ल्याएर झन्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन्।
तै पनि म देख्दैछु मन्त्रीज्यू असाध्यै सुधारमा लागेको आभास मिलेको छ । एउटा झाडु र क्यामेरा लिएर मन्त्रालयमा प्रवेश गरेको फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो ? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टिभि लिएर पुगेर त्यो भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास गर्ने ? त्यसमा सरकारको ध्यान जाओस्।
सरकारले सुशासनका नाममा ल्हारक्याल लामाजस्ता मान्छेलाई नियुक्ति गरेको छ, लुम्बिनी विकास कोषमा । गौतमवुद्ध शान्तिका दुत, शान्तिका दुतका नाममा लकरमा गोली राख्ने मान्छेलाई नियुक्ति गरिएपछि देशको हालत के होला ?
नेपालका मन्त्रीले व्यक्तिगत स्वार्थमा काम गर्न थाले भने मुलुक कहाँ जाने हो? कामका आधारमा होइन दामका आधारमा नियुक्त हुन थालेको छ । मेरो घोर आपत्ति छ । चाहे नेपाल एयरलाइन्समा भएको नियुक्ति होस् । चाहे पशुपति विकास कोषमा होस््। चाहे लुम्बिनी विकास कोषमा होस्। अदालतले पनि कतिपय नियुक्ति खारेज गरेको छ । नियुक्ति भएको छैन विदेशी कम्पनीलाई ९९ वर्षका लागि जग्ग्गा लिजमा दिने परम्पराको सुरुवात भएको छ ।
इजरायलमा पठाइएको न्यारोबडी १४० दिनसम्म ग्राउन्डेड छ। थन्किएर बसेको छ । रिपियर गर्न पठाइयो । १० दिनभित्र रिपियर भएन भने नयाँ इन्जिन हालेर पठाउनुपर्ने तर अहिलेसमम ल्याइएको छैन । नयाँ किन्न टेण्डर गर्ने र फेरि भाडामा ल्याउने?
आफूसँग भएका प्लेन नचलाउने यो प्रवृत्ति कहाँ लाने हो? मुलुकलाई कहाँ लान खोजिदैछ ? नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउन खोजिएको हो । सुरेशलाल श्रेष्ठलाई कम्पनीको एजेण्ड नियुक्ति गरिएको छ । भाडामा ल्याइएको प्लेनमा नयाँ इन्जिन राख्ने नाममा कमिसनका खेल भइरहेका छन् । पर्यटन मन्त्रालयले अहिले दुई स्टारका होटललाई ४ स्टारका होटलको अनुमित दिन लागिएको छ ।