२१ श्रावण २०८३, बिहीबार

नेपाल-चीन कोरलानाका १५ दिन बन्द हुने

एसीपी संवाददाता

२५ माघ २०८०, बिहीबार १०:५७ मा प्रकाशित

गत कार्तिक २७ गते नेपल पक्ष र चीन पक्षको उपस्थितिमा औपचारिक रुपमा कोरलानाका खुल्ला भएको घोषणा गरिएको थियो। चीन पक्षले माघ २५ देखि फागुन १० गतेसम्म सांस्कृतिक चाडपर्व परेका कारण नाका १५ दिनका लागि बन्द गर्ने सूचना उपल्लो मुस्ताङका जनप्रतिनिधिहरुलाई जानकारी गराएका छन्।

चीनतर्फ चाडपर्व पर्ने भएकाले १५ दिनका लागि कोरलानाका बन्द हुने सूचना उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा जानकारी गराइएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय नागरिकलाई लक्षित गर्दै चीन पक्षले कोरलानाका खुल्ला गरेको थियो।

सीमावर्ती क्षेत्रका बासिन्दाका दैनिक अतिआवश्यक सामाग्री आयात तथा नेपाल पक्षका सामाग्री चीनतर्फ निर्यात गर्न चीनले कोरलानाका बाह्रै महिनाका लागि खुल्ला गरेको थियो। नाका खुलेसंगै उपल्लो मुस्ताङका नागरिकलाई चीनिया भूमीमा पुगेर सामान किनमेल गर्न सहज भएको थियो।

चार वर्षपछि खुलेको कोरलानाका चीन पक्षको चाडपर्वले गर्दा उनीहरुले १५ दिन बन्द हुने सूचना दिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले पुष्टि गरे। हिउँदयामसँग अहिले कोरलानाका तथा उपल्लो मुस्ताङको चिसो बढेको र त्यहाँका सबै नागरिक बेसी झरेकाले सीमा नाकामा व्यापारिक गतिविधिसमेत शून्य रहेको बताए। ‘सीमापारीको आन्तरिक चाडपर्वका कारण १५ दिन बन्द हुने सूचना आएको छ। हामीले नागरिकलाई सूचना पनि दिएका छौं’, अध्यक्ष बिष्टले थपे, ‘यो सधैं बन्द भन्ने होइन। जम्मा १५ दिन चाडपर्व पर्ने भएकाले उनीहरुले नाका बन्द गर्छौं भनेका हुन्। यसले हामीलाई खासै असर पार्दैन।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, ‘अन्तराष्ट्रिय सीमानाका बन्द भन्ने कुरा हुँदैन,चीन पक्षले आन्तरिक रुपले केही कारणले केही दिन बन्द गर्छौं भनेका होलान्।’ उनले प्रतिकुल मौसम भएकाले सीमानाकामा पनि ब्यापारिक गतिविधि कम छ,चीनले १५ दिन बन्द गर्दैमा हामीलाई कुनै समस्या नपार्ने बताए।

४ वर्षअघि नेपाल-चीन कोरलानाका बाह्रै महिना खुल्ला हुँदैन थियो। बर्सेनि असार र भदौ महिनामा नेपाल-चीन पक्षको सहमतिमा केही समयका लागि अल्पकालीन ब्यापार मेला लाग्थ्यो। सीमित अवधिमा सीमावर्ती क्षेत्रका नागरिकले आफूलाई आवश्यकता पर्ने मालसमान खरिद गर्ने गर्थे।तर, यसपटक भने नेपाल-चीन कोरलानाका पहिलेको जस्तो नभइ बाह्रै महिना खुल्ला गरिएको हो। नाका बाह्रै महिना खुल्ला भएसँगै उपल्लो मुस्ताङका नागरिकले अनुकुल समयमा आवश्यकता अनुसार चीनको कोरला स्थित लिजीमा पुगेर मालसमान ल्याउन सहज भएको हो।

नेपाल-चीन कोरलानाकाबाट सीमावर्ती क्षेत्रका नागरिकले किराना सामान,खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, निर्माण सामाग्री र भेडाच्यांग्रा आयात गर्न सहज भएको हो। नेपालतर्फबाट स्थानीय कृषि उत्पादन,जटिबुटी र अन्य सामान निर्यात गर्न सजिलो भएको छ।अन्नपूर्णपोस्ट

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x