पत्रकारको संसद प्रवेश पत्र खारिज गरेको भन्दै प्रेस सेन्टरको ध्यानाकर्षण
प्रधानमन्त्रीलाई प्रश्न सोधेको आरोपमा संसद सचिवालयले पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको घटनाप्रति हाम्रो संगठन प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
संघीय संसद सचिवालयले दुइजना पत्रकार संचारकर्मीलाई गत संसद बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमपछि बाहिर निस्कदै गरेका प्रधानमन्त्री केपी ओलीलाई आचारसंहिता विपरित प्रश्न सोधेको अभियोग लगाउँदै प्रवेश पास निलम्बन गरेको विषय प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताविरूद्ध हुन जाने ठहर प्रेस सेन्टर नेपालको रहेको छ ।
नागरिकको वाक स्वतन्त्रता र पत्रकारको प्रश्न सोध्न पाउने अधिकारलाई नै कुण्ठित गर्नेगरी पास निलम्बन गर्ने कार्य कुनै हालतमा पनि सही मान्न सकिन्न ।
प्रेस सेन्टर नेपाल जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित संविधानप्रदत्त नागरिक अधिकार, प्रेस स्वतन्त्रता र परिवर्तनका एजेन्डा कार्यनयनमा प्रतिवद्व छ । तसर्थ कुनै पनि बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताविरोधी गतिविधि नगर्न सरकार, संसद सचिवालय र सरोकारवाला निकायलाई आग्रह गर्दछौं ।
त्यसैगरी पत्रकार तथा सञ्चारमाध्यमहरूले पत्रकार आचारसंहिताको पूर्ण रूपमा कार्यनयन गर्न तथा मर्यादित पत्रकारिता गर्न पनि पत्रकार संचारजगतलाई आग्रह गर्दछौं ।
सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल प्रयोग तथा नियमन विधेयकले जनतालाई सर्वत्र त्रसित र भयभित बनाइरहेको अवस्थामा संसद सचिवालयमार्फत गरिएको प्रेस पास निलम्बनको निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौं ।


