पीसीआर परीक्षणमा कालोबजारी हुने गरेको पुष्टि
चितवन पुष।
पीसीआर परीक्षणमा कालोबजारी हुने गरेको पुष्टि भएको छ । सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेपछि यस्तो तथ्य बाहिरिएको हो ।
सरकारले पीसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो।
प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार कार्यालयले क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमलाई थप अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको थियो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको आदेशसँगै डा गौतम रु आठ लाख धरौटी राखेर तारेखमा रिहा भएको शर्माले जानकारी दिनुभयो ।
प्रशासनले दुई साताअघि चितवन मेडिकल कलेजका सञ्चालकहरुसँग बयान लिएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी शर्माले उनीहरू रु १८ लाख धरौटी राखेर तारेखमा रिहा भएको जानकारी दिनुभयो ।
यी दुई अस्पतालले सरकारले तोकेकोभन्दा रु ५०० बढी शुल्क लिएर कोभिड–१९ को पीसीआर परीक्षण गराइरहेको गुनासो प्रशासन आएको थियो ।



[…] पीसीआर परीक्षणमा कालोबजारी हुने गरेक… […]