ओडिशा सरकारद्वारा गठन गरिएको उच्चस्तरीय समितिले मंगलबार मात्रै कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का प्रमुख प्रोक्टर पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्म्रिका पाटीलगायत वरिष्ठ अधिकारीहरूलाई अनुसन्धानका लागि उपस्थित हुन आदेश दिएको छ। यसअघि, कलेजका संस्थापक अच्युत सामन्तसहित सात जना अधिकारीले फागुन ९ (फेब्रुअरी २१) मा बयान दिएका थिए।
नेपाली विद्यार्थीलाई मात्रै छात्रावास खाली गर्न दबाब किन?
अनुसन्धान समितिले प्रमुख प्रश्न उठाउँदै कलेज प्रशासनसँग सोधेको छ – किन नेपाली विद्यार्थीहरूलाई मात्र छात्रावास छाड्न निर्देशन दिइयो? मृतक प्रकृति लम्सालले एक महिनाभन्दा बढी समयदेखि कलेज प्रशासनमा उजुरी हालेको भए पनि किन कुनै कारबाही नभएको भन्ने विषयमा पनि जवाफ मागिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार समितिले नेपाली विद्यार्थीहरूमाथि जातीय भेदभाव गरिएको थियो कि? भन्ने प्रश्नमा गहिरो अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार कलेजका अधिकारीहरूले समितिसामु यस विषयमा पटक–पटक सोधपुछ भोगिरहेका छन्।
नेपाल सरकारको कडा प्रतिक्रिया
घटनापछि नेपाल सरकारले भारत सरकारसँग दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेको छ। नेपाली विद्यार्थीहरूको सुरक्षासम्बन्धी प्रतिबद्धता जनाउन नेपालले ओडिशाका मुख्यमन्त्री मोहनचरण माझीलाई पनि पत्राचार गरेको छ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ओडिशा सरकारलाई दोषीमाथि कारबाही गर्न र भविष्यमा यस्ता घटनाबाट नेपाली विद्यार्थीलाई जोगाउन स्पष्ट रणनीति अपनाउन आग्रह गरेका छन्। साथै, नेपाली विद्यार्थीहरूलाई सुरक्षित र स्वस्थ शैक्षिक वातावरण सुनिश्चित गर्न पनि भारत सरकारलाई नेपालले कूटनीतिक माध्यमबाट दबाब दिएको छ।
ग्वाहीहरू भन्छन् – प्रशासनकै लापरबाहीले घटना निम्तियो
प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेजमा चर्को असन्तोष देखिएको छ। विद्यार्थीहरू प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै आएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार, मृतकले कलेज प्रशासनमा पटक-पटक उजुरी हाले पनि कुनै कारबाही नभएको प्रमाण भेटिएको छ।
ओडिशा सरकारले किन गठन गर्यो उच्चस्तरीय समिति?
घटनाले नेपाल–भारत सम्बन्धमा असर पार्न सक्ने देखेपछि ओडिशा सरकारले फेब्रुअरी १८ मा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिले कलेज प्रशासनको भूमिकामाथि विशेष ध्यान केन्द्रित गर्दै अनुसन्धान गरिरहेको छ। नेपाली विद्यार्थीहरूमाथि भएको व्यवहार, उनीहरूलाई मात्र जारी गरिएका निर्देशहरू, कलेज प्रशासनले अपनाएको नीति तथा कलेजको सुरक्षा प्रणालीको समीक्षा भइरहेको छ।
नेपाली विद्यार्थीको मृत्युले नेपाल-भारत सम्बन्धमा असर?
फागुन ४ (फेब्रुअरी १६) मा तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल आफ्नै छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेपछि घटनाले अन्तर्राष्ट्रिय ध्यान तानेको थियो। नेपाली विद्यार्थीहरू न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका थिए।
घटनापछि नेपाल-भारत कूटनीतिक सम्बन्धमा यसले प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ। भारतका उच्च अधिकारीहरूले घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको दाबी गरे पनि नेपालले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको लागि अझै कूटनीतिक दबाब बढाइरहेको छ। नेपाल पाना



