१ श्रावण २०८३, शुक्रबार

प्रचण्डले धोका दिएको भन्दै उपेन्द्र अनुपस्थित

एसीपी संवाददाता

२ माघ २०८१, बुधबार १९:०५ मा प्रकाशित

( शिलापत्र ) पार्टीको चार महिना लामो मधेश अभियानबाट फर्केका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौंमै छन् । तर, लामो गृहकार्य र छलफलपछि बुधबार बसेको समाजवादी मोर्चाको बैठकमा पनि उनी सहभागी भएनन् ।

बिहान सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा पनि यादव देखिएनन् । सो बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चामा यादव छिट्टै सक्रिय हुने दाबी गरे । तर, यादव स्वयम् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरेको अन्तरघात र विश्वासघात ‘रियलाइज’ नगरेसम्म मोर्चामा नफर्किने बताएका छन् ।

‘मोर्चालाई भजाएर नेता बन्ने तर मौका मिल्नासाथ अन्तरघात र विश्वासघात गर्ने भएपछि किन जाने ?,’ यादवले शिलापत्रसँग भने, ‘विगतमा गरिएको घातप्रति प्रस्ट नहुँदासम्म जान्नँ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेका बेला जसपा नेपाल विभाजन भएको थियो । सो उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजन गर्न प्रचण्डले सघाएको आरोप यादवको छ । स्वदेश फर्किएलगत्तै प्रचण्डले यादवलाई हटाएर विभाजनबाट बनेको अशोक राई नेतृत्वको जसपालाई सरकारमा लगेका थिए ।

‘प्रचण्डजीले धोका दिन कसलाई बाँकी राखे ? रातारात सरकार हेरफेर गरेर माधवजीलाई झुक्याए । त्योभन्दा पहिले (केपी) ओली र (शेरबहादुर) देउवालाई पनि झुक्याएकै हो,’ यादवले भने, ‘हामीलाई त झन् धोका र घात दुवै दिए । सँगै मोर्चा बनाएर पिठ्युँबाट छुरा हान्ने ? त्योभन्दा ठूलो विश्वासघात के हुन्छ ?’

प्रचण्डले जसलाई जतिबेला पनि धोका दिन सक्ने उनले टिप्पणीसमेत गरे । प्रचण्ड सरकारबाट बाहिरिएपछि सो विषयमा अहिलेसम्म कुनै छलफल नभएको यादव बताउँछन् । मोर्चालाई सक्रिय पार्ने र जसपा नेपाललाई पनि सहभागी गराउन सबैभन्दा पहिले प्रचण्डले विगतको विश्वासघात रियलाइज गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘हैन भने अब प्रचण्डलाई विश्वास गर्न सकिँदैन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x