प्रतिनिधिसभा विघटनविरुद्ध रिटहरुको प्रारम्भिक सुनुवाइ एकल इजलासमा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको प्रारम्भिक सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ।
सर्वोच्चले जबराको एकल इजलासमा विघटनसम्बन्धीका १२ वटा रिट निवेदनमाथि सुनुवाइका लागि पेशी तोकेको छ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १३ वटा रिट निवेदन दर्ता भएकामा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो। अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक भएको भन्दै थुप्रै अधिवक्ता तथा सांसदहरुले पनि रिट दायर गरेका छन्।
मंगलबारमात्रै नेकपाको प्रचण्ड–माधव समूहका नेताहरूले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र उक्त निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै प्रचण्ड–माधव समूहका नेता तथा सांसद देव गुरूङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले सर्वाेच्चमा रिट दायर गरेका थिए।
यस्तै अधिवक्त्ताहरू सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेलसमेत, लोकेन्द्रबहादुर ओली र केशरजंग केसी, ज्ञानेन्द्र आरण, शालिकराम सापकोटा, कमलबहादुर खत्री, मनिराम उपाध्याय, दिनेश त्रिपाठी, अमिता गौतम पौडेल र कृष्णप्रसाद श्रेष्ठलगायतले पनि रिट दायर गरेका छन्। आयोमेल बाट


