(फास्ट ट्र्याक)को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता
काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले छानबिन थालेको छ । सो ठेक्कामा अनियमितता भएको दाबी गर्दै लेखा समितिमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा लेखा समितिले छानबिन अघि बढाएको हो ।
लेखा समितिले अनियमितताबारे उजुरी परेपछि छानबिनका लागि रक्षा मन्त्रालयसँग प्रतिक्रियासहित आवश्यक कागजात मागेकामा मन्त्रालयले समितिलाई सो कागजात पठाएको छ ।
समितिले ११ वटा विभिन्न तथ्यलाई टेकेर सात दिनको समय दिँदै मन्त्रालयमा जवाफ दिन पत्र पठाएको थियो । रक्षा मन्त्रालयका एक अधिकारीले समितिले मागेका कागजात पठाइएको जानकारी दिए । ‘लेखा समितिले कागजपत्र मागेको थियो, मन्त्रालयले लेखाले मागेका आवश्यक कागजात तीन वटा बाकसमा हालेर पठाइसकेको छ,’ ती अधिकारीले भने । लेखा समितिले अनियमितताको गुनासो आएपछि छानबिन थालेको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
समितिले द्रुत मार्गको परियोजनामा दुई वर्षअघि नै प्रि–क्वालिफिकेसनका लागि ग्लोबल टेन्डर आह्वान गरिएकोमा ६ वटा कम्पनीलाई सर्ट लिस्टसमेत गरिसकेपछि एकाएक सम्पूर्ण प्रक्रिया रद्द गरेर फेरि टेन्डर गरिएपछि प्रश्न उठाएको हो ।
यसैगरी, दुई वर्षपछि आह्वान गरिएको टेन्डरबाट पहिलो फेजमा दुई र दोस्रो फेजमा एक मात्रै कम्पनी छनोट भएकोमा समेत समितिले चासो राखेको छ । जब कि दुवै टेन्डरमा पूर्वयोग्यता छनोटका आधार एउटै छन् । समितिले यो चरणमा मिलोमतोको आशंका गरेको छ ।
पहिलो फेजका लागि २१ र दोस्रो फेजका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तर, पहिलोका लागि दुई र दोस्रोका लागि एउटा मात्र कम्पनी प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् ।
यसैगरी, दुई वर्षअघिको प्रि–क्वालिफिकेसनका क्रममा छनोट भएका कम्पनी दोस्रोपटक छनोटमै नपरेको तर अघिल्लोपटक छनोटमै नपरेको कम्पनी एकाएक छनोटमा परेको विषयलाई समेत समितिले चासो राखेको छ ।
पहिलो फेजमा २७ अर्बको ठेक्कामा अघिल्लोपटक प्रिक्वालिफिकेसनमा अयोग्य ठहरिएको निर्माण कम्पनीलाई नै प्रतिस्पर्धाका लागि छनोट गरिएको छ ।
त्यस्तै, दोस्रोमा २५ अर्बको ठेक्कामा आर्थिक प्रतिस्पर्धाका लागि एउटा मात्रै कम्पनी छानिएको छ । जब कि २२ कम्पनीले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । लेखा समितिले २५ फागुनमा रक्षा मन्त्रालयलाई पठाएको पत्रमा सात दिनभित्र ठेक्कासँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन भनेको थियो ।
समितिका सचिव पाण्डेले रक्षा मन्त्रालयले समितिले माग गरेका कागजात पठाएको र सो कागजातलाई विज्ञमार्फत अध्ययन गर्ने काम भइरहेको जानकारी दिए । उनले सो आयोजनामा पूर्वयोग्यता निर्धारण गर्नेक्रममा नै मिलेमतो भएको हुन सक्ने र कागजात बोल्ने भन्दै छानबिनपछि सबै विषय प्रस्ट हुने जानकारी दिए ।
- ‘थुप्रै डकुमेन्ट आएका छन्, विज्ञहरूलाई राखेर अध्ययन गर्दै छौं, समितिले सार्वजनिक खरिद कार्यालयसँग पनि राय सुझाव लिन्छ, आवश्यकता अनुसार छानबिनअघि बढ्छ,’ समितिका सचिव पाण्डेले थपे ।
काठमाडौंदेखि निजगढ जोड्ने यो सडक आयोजनाको कुल दूरी ७२ दशमलब ५ किलोमिटर मानिएको छ । यो आयोजनामा करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । यस सडक आयोजनामा कुल तीन वटा सुरुङ रहनेछन् । सुरुङ र ठूला पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । यसका लागि पहिलो फेजमा २७ अर्ब र दोस्रोका लागि २५ अर्ब लागत अनुमान छ ।
पूर्वयोग्यता निर्धारण गरिँदा एउटा मात्रै कम्पनी छनोट भएको विषयलाई समितिले मुख्य चासो दिएको समितिका एक सदस्यले जानकारी दिए । ठेक्का दिँदा नै प्रतिस्पर्धा हुने स्थिति नदेखिएको र त्यसले गर्दा प्रतिस्पर्धाको वातावरण नभएकाले प्रक्रिया नै सार्वजनिक खरिद ऐनको मर्मविपरीत रहेको हुन सक्ने ती सदस्यले बताएका छन् । सेनाले पहिलो फेजका लागि चिनियाँ कम्पनी पोली चंडा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङलाई छनोट गरेको छ । यस्तै, दोस्रो फेजका लागि चिनियाँ निर्माण कम्पनी पोली चंडा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरिएको छ । प्रतिस्पर्धामा आएका अन्य २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका थिए । राजधानीन्युज


