बाँकेमा दुई गाउँपालिकामा अस्पतालको शिलान्यास
बाँकेको खजुरा गाउँपालिकामा १५ शैया अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैया अस्पताल निर्माण गर्न लागिएको हो । नेपाल सरकार संघको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले आज सोमवार एक समारोहका वीच शिलान्यास गर्नुभयो । १८ करोड ६ लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रोकायले अस्पताल निर्माणमा बजेटलगायतका कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले सर्वसुलभ स्वास्थ्य उपचारका लागि देशका ३९६ स्थानमा आज एकै पटक शिलान्यास गर्दा बाँकेको खजुरामा पनि १५ शैयाको अस्पतालको शिलान्यास हुनु आफैमा महत्वपूर्ण रहेको बताउँदै सांसद रोकायले लोकतान्त्रिक सरकार जनतालाई सेवा दिन तत्पर रहेको उल्लेख गर्नुभयो ।
उहाँले संघीय लोकतान्त्रिक व्यवस्थामा सरकार र जनप्रतिनिधि जनताका इच्छा र चाहना अनुसारका कार्यक्रम लिएर अगाडि बढ्ने गरेको बताउँदै उक्त व्यवस्थाको रक्षा गर्न सबैमा अपील गर्नुभयो । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरामा निर्माण हुने अस्पताल स्वास्थ्य हब बनाउने लक्ष्यमा कोशेढुंगा सावित भएको बताउनुभयो । उहाँले नेपाल सरकारले स्वास्थ्यमा आमूल परिवर्तन गर्न एकै पटक ३९६ वटा अस्पताल निर्माण गर्ने कुरा स्वास्थ्य क्षेत्रमा क्रान्ति भएको उल्लेख गर्नुभयो ।
यसैगरी कोहलपुरमा पनि आजै १५ सइयाको अस्पताल शिलान्यास हुने भएको छ । लुम्बिनी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल, संघीय सांसद महेश्वर गहतराज र मेयर लुटवहादुर रावतले अस्पतालको शिलान्यास गर्नुहुनेछ ।
राप्तीसोनारीमा भने बैजापुर स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी अस्पताल नै सञ्चालन गरिएको छ ।
नरैनापुरको लक्ष्मणपुर स्वास्थय चौकीमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।


