बाँके प्रहरीद्वारा लागूऔषध बिरुद्ध महाअभियान सञ्चालनमा
लक्ष्मी थारु । बाँके प्रहरीले लागूऔषध बिरुद्धको महाअभियान सञ्चालनमा ल्याएको जनाएको छ ।
बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जिल्लामा लागू औषधलाई निस्तेज गर्नको लागि प्रहरीले स्थानीय तहसंगको सहकार्यमा महाअभियान सञ्चालनमा ल्याएको जानकारी दिए । बाँके प्रहरीले बाँकेका ८ वटै स्थानीय तहका ८१ वटा वडाका वडा अध्यक्षको संयोजकत्वमा लागू औषध बिरुद्धको वडास्तरिय समिति निर्माण गरी काम सुरु गरेको उहाले बताउनुभयो । उहाले लागूऔषधको कारण जिल्लामा अपराधको दर ७० प्रतिशतले बढेकोले महाअभियान संचालन गर्नु परेको बताउनुभयो । महाअभियान अन्तरगत बाँकेको नरैनापुर गाउपालिकाका र राप्तीसोनारी गाउपालिकाको वडा नं. ६ र ७ को वाडा समिति तथा स्थानीय नागरिक समुदायसंग नरैनापुरमा अन्तरक्रिया समेत आयोजना गरिएको छ । सो कार्यक्रममा बोल्दै नरैनापुर गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले लागू औषध समाजको लागि बिष भएको कारण सबैको सहयोगले मात्र यसलाई निमूर्ल गर्न सकिने बताउनुभयो । वडास्तरबाट आफ्नो गतिविधि सुरु गरेको जानकारी दिदै राप्तीसोनारी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष रामलखन थारुले नशा मुक्त समाज निर्माणको लागि प्रहरीको एक्लो प्रयास मात्र सम्भव नभएकोले सबैको हातेमालो आवश्यक भएको जीकिर गर्नुभयो । जिल्ला प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ६१ वटा मुद्दामा ८३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज क्षेत्रीले जिल्लामा लागू औषधको मुद्दाको अवस्था र प्रहरी नागरिकको सक्रियताको बारेमा जानकारी गराउनुको साथै नरैनापुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले पालिकाले लागू औषध बिरुद्धको महाअभियानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


