१२ आश्विन २०८३, सोमबार

बाँके–२ क्षेत्रीय सभापतिमा वीरेन्द्र बहादुर शाहको उम्मेदवारी घोषणा

एसीपी संवाददाता

१२ आश्विन २०८३, सोमबार १२:०६ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, असोज १२ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै पार्टीभित्र विभिन्न तहको नेतृत्व चयनका लागि आन्तरिक गतिविधि तीव्र बन्दै गएको छ।

यसैक्रममा बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदका लागि युवा नेता वीरेन्द्र बहादुर शाहले उम्मेदवारी घोषणा गर्नुभएको छ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण, पार्टी गतिविधि तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका शाहले पार्टीको आदर्श, नीति र सिद्धान्तलाई आत्मसात् गर्दै क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने निर्णय गर्नुभएको बताउनुभएको छ।

पार्टी सुदृढीकरण र युवा नेतृत्व प्राथमिकतामा
उम्मेदवारी घोषणा गर्दै शाहले बाँके क्षेत्र नं. २ मा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, गतिशील, व्यवस्थित र क्रियाशील बनाउने उद्देश्यसहित आफू नेतृत्वका लागि अघि बढेको बताउनुभयो।

उहाँले पार्टीका अग्रज नेताहरूको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै युवा पुस्ताको ऊर्जा, क्षमता र भावनालाई संगठनमा प्रभावकारी रूपमा समेट्ने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

शाहले कांग्रेसका नेता तथा कार्यकर्ताबीचको एकता, संगठनात्मक सक्रियता र कार्यकर्तामुखी नेतृत्वलाई प्राथमिकता दिँदै क्षेत्र नं. २ मा पार्टीको सांगठनिक आधार थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँको उम्मेदवारी घोषणासँगै बाँके क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदको निर्वाचनमा प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। उम्मेदवारी घोषणा गर्दै शाहले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ र समर्थनबाट आफूले नेतृत्वमा पुगेर संगठनलाई थप प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x