बिना रिपोर्ट चिनियाँ नागरिक किन आए नेपाल ? नेपालीलाई भने चीन जान खोप अनिवार्य
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । सरकार लकडाउनको तयारीमा छ । यस्तो बेला चिनियाँ नागरिकहरु भने धमाधम नेपाल आइरहेका छन् ।
हालैमात्र एक जना चिनियाँ नागरिक काठमाडौं आएकै दिन सिधै एटिएममा गएर ह्याक गरी पैसा निकाल्दै गर्दा समातिएका थिए । चिनियाँहरु पर्यटक भिसामा नेपाल आएर अपराध गर्ने प्रवृत्ति बढ्दै जाँदा भर्खरै करिब ५ सय जना चिनियाँ नागरिक नेपाल आएका छन् ।
विभिन्न विकास आयोजनामा काम गर्ने भनेर गृह मन्त्रालयले उनीहरुलाई भिसा दिएको पाइएको छ । गृहले चैत १८ गते मध्य भोटेकोशी जलविद्युत आयोजना, लाङटाङ भोटेकोशी हाइड्रोपावर, गौतमबुद्ध विमानस्थल आयोजनालगायतका लागि भनेर चिनियाँ नागरिकलाई प्रवेश दिएको हो । पछिल्लो एक डेढ महिनाको अवधिमा ५ सय जति नागरिक नेपाल आएका छन् ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायत आयोजनासँग सम्बन्धित मन्त्रालयको अनुरोधमा गृहले चिनियाँ नागरिकलाई प्रवेश अनुमति दिएको हो ।
नेपाल आउनेमा गृहमन्त्रालयको सूचीमा एक नम्बरमा हुवाङ तियानछियाङको नाम छ। त्यसैगरी यान केरोङ, यी फेइङ, लाओ वीन्लु, वी लन्याङ, वी हान्जेन, पान होङ, लान केजन, क्वीन कियाङ, कल लिम्बो, क्वीन वीक्सु लगायत रहेका छन्।
खोपमा विभेद
चीनले आफ्नो देशमा प्रवेशका लागि चीनमै बनेको खोप लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर चिनियाँ नागरिकहरु भने खोप विनै नेपाल आएको खुलेको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार पीसीआर परीक्षण रिपोर्ट हेरेर उनीहरुलाई नेपाल आउन दिइएको छ । आफ्नो देश छिर्न आफ्नै खोप लाउनुपर्ने शर्त राख्ने चीनले आफ्ना नागरिकलाई भने विना खोप नेपाल पठाएर फेरि दादागिरी देखाएको छ ।
एक त मित्रताको आडमा राजनीतिकदेखि एटिएम ह्याकसम्म हस्तक्षेप गर्ने चिनियाँहरु खोपमा समेत आफूलाई सुपेरिएर देखाउन थालेका छन् । नेपालीले चीन जान अनिवार्य चिनियाँ खोप लाउनैपर्ने तर चिनियाँहरु नेपाल आउँदा पीसीआरले मात्रै पुग्ने कस्तो विभेद? । नेपालपाना


