भलिबल च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायमै
विभागिए टिम नेपाल एपीएफ क्लवले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
शनिबार भएको खेलमा एपीएफले नयाबजार सामाजिक क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो । त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफले नयाँबजारलाई सोझो सेटमा पराजित गर्यो । तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध एपीएफले पहिलो सेटबाट नै दबाव बनाएको थियो ।
जसका कारण उसले पहिलो सेट २५–१२ ले जित्यो भने दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्यो । यस्तै तेस्रो सेटमा पनि उसले २५–१६ ले जित निकाल्न सफल भयो । जितसँगै एपीएफ पुरूष तर्फ अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् ।
लिगको महिला र पुरुष विजेता टीमले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।


