भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप
भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् । देशभरि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार पाँच सय ४५ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको विवरण बिहीबार दिउँसो १ बजेसम्मको भएको मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिए । मन्त्रालयले साप्ताहिक रूपमा सार्वजनिक गर्ने गरेको विवरणअनुसार बिहीबार यो विवरण सार्वजनिक गरेको हो ।
खोपका कुल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका हुन् भने अरू २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएका हुन् । भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित हुने क्रम राेकिएकाे छैन । स्वास्थ्यसचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेंग्लाेर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरंगबादलगायतका क्षेत्रमा धेरै संक्रमित रहेका छन् ।
महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी संक्रमित सक्रिय अवस्थामै रहेको स्वास्थ्यसचिव भूषणले बताए । ‘धेरै संक्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै रहेका छन्,’ भूषणले पत्रकार सम्मेलनमा भने ।
त्यसैगरी मध्यप्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै संक्रमित भएको प्रदेशमा परेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । भारतमा पछिल्लो २४ घन्टामा थप २२ हजार आठ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् भने एक सय २६ संक्रमितको मृत्यु भएको छ । नयाँ पत्रिकामार्फत


