१२ मंसिर २०८३, शुक्रबार

भारतीय इन्जिनियरहरूद्वारा रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज निर्माण

एसीपी संवाददाता

२५ चैत्र २०७७, बुधबार ०१:३३ मा प्रकाशित

एजेन्सी नयाँदिल्ली । भारतीय इन्जिनियरहरूले रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज बनाएका छन् । कस्मिरमा रहेको चेनाब नदीमा बनेको उक्त आर्क ब्रिजको निर्माण सोमबार सकिएको छ ।

नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ । १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान छन् ।

भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो ।

१० हजार ९ सय १६ मेट्रिक टन तौल भएको यो ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ। १०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने बताइएको छ ।

यो रेलमार्गको योजना सन् २००२ मा बनेको हो। २००४ देखि काम सुरू भएको रेलमार्गको सबैभन्दा चुनौतीपूर्ण भाग नै यही पुल थियो । यो पुल बनेपछि जम्मु(कस्मिर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ।

अब त्यहाँ रेलवे लिक बनाउन सुरू गरिनेछ। एक वर्षमा त्यहाँ लिक बिछ्याउने काम सकिने र साढे २ वर्षमा रेलमार्ग सञ्चालनमा आउने अधिकारीहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि बताउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x