२१ जेष्ठ २०८३, बिहीबार

भारतीय तीर्थयात्रीले भरिभराउ सिमकोट, जहाज र हेलिकोप्टरलाई भ्याइनभ्याइ

एसीपी संवाददाता

२१ जेष्ठ २०८३, बिहीबार १६:४३ मा प्रकाशित

बुधबार मात्रै जहाजका २९ र हेलिकोप्टरका ५६ उडान, ३ सातामा २ हजार १ सय तीर्थयात्रीले गरे कैलाश– मानसरोवर दर्शन।

  • भारतीय तीर्थयात्रीको भीडका कारण हुम्लाको सिमकोट, होटल, जहाज र हेलिकोप्टर सबै भरिभराउ भएका छन्।
  • यस वर्ष झण्डै १६ हजार भारतीयले कैलाश–मानसरोवर दर्शनका लागि बुकिङ गरेका छन् भने तीन सातामै २ हजारभन्दा बढीले यात्रा गरिसकेका छन्।
  • तीर्थयात्राबाट स्थानीय व्यवसाय, रोजगारी र कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव परेको छ, यद्यपि पूर्वाधार र सुविधाको अभावले यात्रुहरूलाई कठिनाइ भएको छ।

सुर्खेत — भारतीय तीर्थयात्रीको चापका कारण हुम्ला सदरमुकाम सिमकोट भरिभराउ भएको छ । तीर्थयात्राको सिजन सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी, भरियालगायतलाई भ्याइनभ्याइ भएको हो । बुधबार मात्रै सिमकोट विमानस्थलमा १ सय ७० (दुईतर्फी) उडान भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपालगन्जबाट सिमकोटका लागि जहाजले २९ र सिमकोट–हिल्साका लागि हेलिकोप्टरले ५६ वटा उडान भरेका हुन् । तीर्थयात्रा सुरु भएको तीन सातामा २ हजार १ सय २४ भारतीयले कैलाश–मानसरोवर दर्शन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय पर्यटकहरु जहाजमार्फत नेपालगन्जबाट सिमकोट पुग्छन् भने सिमकोटबाट चीन सीमास्थित हिल्सासम्म हेलिकोप्टरमा जाने गरेका छन् । व्यवसायीहरुका अनुसार यो वर्ष झण्डै १६ हजार जना भारतीय पर्यटकले तीर्थयात्राका लागि ‘बुकिङ’ गराएका छन् । जिल्ला प्रहरी कार्यालयले हुम्ला भित्रिने पर्यटकहरुको तथ्यांक राख्ने गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म करिब १ हजार २ सय पुरुष र ९ सय महिलाले मानसरोवर दर्शन गरेका हुन् ।

‘अहिले त जताततै भारतीय तीर्थयात्रीको भीड छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले भने, ‘अहिले बिहान साढे ६ बजेदेखि नै उडान भइरहेका छन्, पर्यटकहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइएको छ ।’ हुम्ला विमानस्थल प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार तीर्थयात्री ओसार्न तारा, समिट र सीता एयरलाइन्सले दुई/दुईवटा जहाज नेपालगन्जमा राखेका छन् भने सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु र कैलाश एयरका ६ वटा हेलिकोप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा छन् ।

Indian pilgrims crowd Simkot, crowding planes and helicopters

‘दिउँसो १२ बजेदेखि हावा चल्ने भएकाले बिहान साढे ६ बजेदेखि नै उडान सुरु हुन्छ,’ उनले भने, ‘बुधबारसम्म दैनिक १२ वटासम्म उडान भइरहेका थिए, बुधबार ह्वात्तै उडान बढ्यो, बिहीबार पनि १५ भन्दा बढी उडानको तालिका छ, जहाजको चाप एकैचोटी हुँदा हवाई ट्राफिक जामको समस्या देखिएको छ ।’ ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x