भेरी अस्पताललाई पुर्बमन्त्री राईले सांसद विकास कोषबाट ४५ लाख दिने
पूर्व सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद इस्तियाक राईले भेन्टिलेटर खरिदका लागि भेरी अस्पताललाई सांसद विकास कोषबाट फेरी ४५ लाख रुपैयाँ दिनु भएको छ ।
कोभिड १९ को महामारी बढ्दै गएकोले अस्पतालमा भेन्टिलेटर थप्नु अतिनै जरुरी देखिएकोले आफुले फेरी पनि दुई थान भेन्टिलेटरका ४५ लाख रुपियाँ बिनियोजन गरेको सांसद राईले बताउनुभयो । उहाँले यस पटक कुनैपनि बहानामा सो रकम फ्रिज नगराएर सदुपयोग गर्न उपमहानगरपालिकालाई आग्रह पनि गर्नु भएको छ ।
नेपाल सरकारले भेरी अस्पताललाई ५ वटा भेन्टिलेटर उपलब्ध गराएकोमा थप दुई वटा भेन्टिलेटर आवश्यक रहेकोले सो का लागि आफुले ४५ लाख रुपियाँ विनियोजन गरेको पुर्व सहरी विकास मन्त्री समेत रहनु भएका सांसद राईले बताउनुभयो ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले कोभिड १९ का गम्भीर विरामीका लागि अस्पतालमा भेन्टिलेटर थप गर्नु अतिआवश्यक रहेको बेला सांसद राईले प्रदान गर्नु भएको बजेटबाट दुई वटा भेन्टिलेटर खरिद गरिने बताउनुभयो ।
भेन्टिलेटर जडानपछि भेरी अस्पतालमा उपचारका लागि पश्चिम नेपालका विभिन्न जिल्लाबाट आउने गम्भीर संक्रमितको उपचारमा ठूलो सहयोग मिल्ने अध्यक्ष धितालले बताउनुभयो ।
भेरी असपतालमा निर्माण भैरहेका नयाँ भवनको निर्माणका लागि पनि उहाँलेनै सहरी विकास मन्त्री रहेको बेला बजेट प्रदान गर्नुभएको थियो ।


