३२ असार २०८३, बिहीबार

मधुवन नगरपालिका वडा नं. ६ बालविवाहमुक्त वडा घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न

एसीपी संवाददाता

२७ बैशाख २०८२, शनिबार २२:१३ मा प्रकाशित

मधुवन नगरपालिका वडा नं. ६ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने कार्यक्रम भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको प्रमुख आतिथ्य र वडा नं. ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङको अध्यक्षतामा सम्पन्न भयो।

मधुवन नगरपालिका बालविवाह न्यूनीकरण कार्यविधि २०७७ अनुसार १५% भन्दा कम बालविवाह दर भएका वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न सकिने प्रावधानअनुसार, हाल वडा नं. ६ को बालविवाह दर १३% रहेको हुँदा यसलाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो।

उक्त कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, अभिभावक, राजनीतिक दल, विद्यार्थी, प्रहरी लगायतका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बि. ग्रुपको आर्थिक तथा प्राविधिक सहयोग र समन्वयमा सम्पन्न भयो।

कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लबका उप-निर्देशक गोविन्द प्रसाद लामिछानेले घोषणा मात्रै नभई यसको प्रभावकारी कार्यान्वयन र फलोअप कार्यक्रम सञ्चालनमा जोड दिँदै बाँकी वडाहरूमा पनि सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

अन्य वक्ताहरूले पनि कार्यान्वयन पक्षलाई सशक्त बनाउँदै अन्य वडालाई पनि अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए।

बालविवाह न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थाहरू – बाँके युनेस्को क्लब, बि. ग्रुप, प्लान नेपाल, महिला स्वयंसेविका, किशोरी क्लब, अगुवा बडाघर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, दलित महिला संघ, विभिन्न सांस्कृतिक समूहहरूलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरियो।

कार्यक्रममा Deputy Directer गोविन्द प्रसाद लामिछाने (बाँके युनेस्को क्लब), कार्यक्रम संयोजक ईश्वर बी.के., बि. ग्रुपका कार्यकारी निर्देशक डम्मर बिक कार्यक्रम प्रबन्धक भानु लिम्बू, शिक्षा प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा, प्लान नेपाल बर्दिया जिल्ला कार्यक्रम अधिकृत सुष्मा घर्ती मगरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

वडा अध्यक्षका प्रतिनिधिका रूपमा दिलीप गुरुङले सहकार्य गर्ने संस्थाहरूको निरन्तरताका लागि ध्यानाकर्षण गराउनुभएको थियो।

नगरप्रमुख तथा प्रमुख अतिथि तेज बहादुर भाटले तीन वर्षभित्र बालविवाह दर शून्यमा झार्ने र वि.सं. २०८५ भित्र सम्पूर्ण वडालाई बालविवाहमुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले हस्ताक्षर अभियानको उद्घाटन गर्दै उपस्थित सरोकारवालाहरूबाट १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउनु भयो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x