मनसुनपूर्व बाँकेमा बाढी विपद्को अभ्यास, सुरक्षाकर्मी र रेडक्रस सक्रिय
बाँके नेपालगञ्ज – मनसुन सुरु हुनुअघि संभावित बाढी जोखिमलाई ध्यानमा राखेर बाँकेको राप्ती नदी किनार सिधनियामा शुक्रबार बाढीजन्य विपद्को पूर्वतयारी अभ्यास गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गरिएको उक्त अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, र नेपाल रेडक्रस सोसाइटीले संयुक्त रूपमा खोज, उद्धार र प्राथमिक उपचार अभ्यास प्रदर्शन गरेका थिए। अभ्यासमा घाइतेलाई तत्काल उपचार गरी अस्पताल पठाउने प्रक्रिया पनि देखाइएको थियो।
अभ्यासमा रमाइलो गर्न गएका, माछा मारिरहेका वा टिकटक बनाउँदै गर्दा बाढीले बगाएको, केही बस्ती डुबानमा परेको जस्ता वास्तविक जीवनमा देखिन सक्ने दृश्यहरू प्रस्तुत गरिएको थियो। त्यसक्रममा टाउकोमा चोट लागेका, हात खसेका, बेहोस भएका, पानी खाएर अचेत भएका घाइतेहरूलाई प्राथमिक उपचार दिइएको थियो।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, लुम्बिनी प्रदेश सांसद मिनाकुमारी श्रेष्ठ, नेपाल रेडक्रस बाँकेका सभापति गोवर्धन सिंह सम्झना, सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।
यस अभ्यास कार्यक्रमलाई सफल बनाउन सुपर परियोजनाले सहयोग गरेको थियो।












