१२ मंसिर २०८३, शुक्रबार

माधव-प्रचण्ड समुहमा भुकम्प आउने संभावना

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार ०८:५८ मा प्रकाशित

आकाङ्क्षी धेरै हुँदा प्रचण्ड-माधव समूहको नेकपालाई महासचिव र सचिवालय सदस्य चयनमा समस्या देखापरेको छ ।

२० पुसमा नेताहरूको कार्यविभाजनका लागि कार्यदल गठन भए पनि नेताहरूको व्यवस्थापन त्यस समूहलाई कठिन बन्दै गएको हो । एक महासचिवका लागि नेकपामा पहिलेदेखि नै नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, भीम रावलको दाबी थियो ।

पछिल्लो समय त्यस पदमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले समेत दाबी प्रस्तुत गर्न थालेका छन् ।  पार्टी विभाजन भएदेखि नै महासचिव चयनको विषय उठेको थियो । १९ माघमा बसेको केन्द्रीय कमिटी बैठकले महासचिवबाट विष्णु पौडेललाई हटाउने निर्णय गरिसकेको छ ।

महासचिव पदमा धेरैको दाबेदारी देखिएपछि सचिवालयलाई नै टुंगो लगाउन भनिएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए । उनले भने, ‘आकांक्षीहरू धेरै हुनुहुन्छ । सचिवालय तहबाटै यसको छिनोफानो होस् भनेर हामीले सचिवालयलाई जिम्मेवारी दिएका छौँ ।’

सचिवालय सदस्यहरू सुरेन्द्र पाण्डेप्रति सकरात्मक रहे पनि निर्णयमा भने पुग्न सकेका छैनन् ।  माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन भूमिका निर्वाह गरेकाले पाण्डेलाई महासचिवको जिम्मेवारी दिनुपर्ने मत वरिष्ठ नेता झलनाथ खनालको छ । प्रचण्ड पनि पूर्वएमाले पक्षधरको पदीय व्यवस्थापनप्रति अलि उदार रहेको उनीनिकट स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको भनाइ छ ।

‘महासचिव पूर्वएमाले पक्षधरलाई दिने विषयमा प्रचण्ड लचिलो नै देखिनुभएको छ । दुई अध्यक्षको सहमतिमा छिट्टै यो विषयले पूर्णता पाउँछ,’ उनले भने ।

नेकपा विभाजनपछि सचिवालय सदस्यसमेत रिक्त छ। सचिवालय सदस्यका लागि समेत धेरैको आकाङ्क्षा छ । नेकपाभित्र जनार्दन शर्मा, हरिबोल गजुरेललगायतका नेताहरूले सचिवालय भंग गर्नुपर्ने मत पनि राखेका छन् । ‘सचिवालयले स्थायी कमिटीलाई अनिर्णयको बन्दी बनाउँदो रहेछ । त्यसैले यसको खारेजी हुनुपर्छ भन्ने मत केही नेताहरूको छ,’ नेता गजुरेलले भने ।

तर, नेताहरूको व्यवस्थापनका लागि सचिवालय सदस्यको संख्या थप गर्ने विषयमा पनि बहस सुरु हुन थालेको छ । दुई अध्यक्षबीच सहमति भएको अवस्थामा विधान संशोधन गरी सचिवालय सदस्यको संख्या हेरफेर हुन सक्ने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले बताए ।

‘सचिवालय सदस्यको संख्या हेरफेर गर्ने विषयमा छलफल सुरु भएको छ । यति नै संख्या यकिन नभए पनि त्यो विषय उठान भएकाले दुई अध्यक्षबीच सहमति जुटेको अवस्थामा संख्या बढ्न सक्छ,’ नेता पोखरेलले भने ।

नेकपामा ९ सचिवालय सदस्य रहने उल्लेख छ । साबिकको नेकपामा रहेका सचिवालय सदस्यमध्ये प्रचण्ड-माधव समूहमा चार जना छन् । वामदेव गौतम हाल तटस्थ छन् । त्यस समूहले महासचिव रहेका विष्णु पौडेलाई मात्रै कारबाही गरेको छ । रिक्त सचिवालय सदस्यमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टको दाबेदारी छ ।

यस्तै, नेताहरू जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, वर्षमान पुन, गिरिराजमणि पोखरेलले त्यसमा दाबी गरेको बताइएको छ । ‘पदका आकाङ्क्षी धेरै नै हुनुहुन्छ । सबैले पार्टीमा योगदान गर्नुभएको छ । सबै कुराको मूल्यांकन  गर्दै नेताहरूको उचित व्यवस्थापनको निर्णय पार्टीले गर्नेछ,’ स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन् ।

प्रतिनिधिसभा विघटनपछि आन्दोलनमा केन्द्रित हुनुपर्ने भएकाले सांगठनिक कार्यविभाजनको काममा ढिलाइ भएको नेताहरूले बताएका छन् । हाल सम्पूर्ण शक्ति २८ माघको प्रदर्शनमा केन्द्रित रहेकाले सांगठनिक कार्यविभाजन टुंगो लगाउने काम त्यसपछि मात्रै प्रारम्भ हुने स्थायी कमिटी सदस्य भुसालको भनाइ छ । ‘हामीले अहिले सम्पूर्ण रूपमा २८ माघको प्रदर्शनमा केन्द्रित छौँ । संगठनात्मक कार्यविभाजनको टुंगो आन्दोलनपछि मात्रै लाग्नेछ । महासचिव लगायत सचिवालय सदस्यको निर्णय त्यसपछि गर्नेछौँ,’ उनले भनिन् ।

प्रचण्ड-माधव समूहमा पूर्वएमाले र पूर्व माओवादीतर्फबाट केन्द्रीय नेतृत्वमा पुगेका नेताहरू धेरै भएकाले पदीय व्यवस्थापन निकै सकसपूर्ण छ । अध्यक्ष प्रचण्ड पूर्वएमालेतर्फका नेताहरूको साथ लिन उनीहरूलाई उचित व्यवस्थापन गर्ने पक्षमा छन् । यसले पूर्वमाओवादी पक्षधर थप रुष्ट हुन सक्ने देखिएको छ । यो समाचार शिलापत्रबाट लिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x