१ श्रावण २०८३, शुक्रबार

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार

एसीपी संवाददाता

३१ भाद्र २०७७, बुधबार ०५:१२ मा प्रकाशित

कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३०० मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पाकिङ्ग स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल, अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो । चारवटै आयोजनाको मंगलबासर अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री भट्टराईले कोभिड महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणाम स्वरुप विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताउनुभयो । हालैको मन्त्रिपरिषद् वैठकले अन्तर्राष्ट्रिय उडान संख्या थप्ने निर्णय गर्नुका साथै असोज ५ गतेदेखि आन्तरिक हवाई उडान पनि सञ्चालन गर्नेनिर्णय गरेकाले विमानस्थल अब विस्तारै पुरानै लयमा फर्किने उहाँले बताउनुभयो । उहाँले कोभिड महामारीबाट सुरक्षित रहेर सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्दै सुरक्षित हवाई सेवाको सुनिश्चितताका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औंल्याउनुभयो । पर्यटनमन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाडै काम थालिने जनाइएको छ । समानान्तर ट्याक्सी वे, विमानस्थलको तत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङ्ग स्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x