२७ श्रावण २०८३, बुधबार

मोरङ प्रहरीले पक्राउ गरेका बंगलादेशी नागरिक तनवीरको के हो रौतहट कनेक्शन ?

एसीपी संवाददाता

४ चैत्र २०८०, आईतवार ०९:०० मा प्रकाशित

तस्वीर श्रोतः अनलाइनखवर ।  कम पढेलेखेका आम मानिसहरुलाई पैसाको प्रलोभनमा पारेर नागरिकताको फोटोकपी र फोटो संकलन गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना बंगलादेशी सहित तिन जनालाई प्रहरीले पक्राउ गरेर कारवाही चलाएका छन् ।

उक्त गैरकानुनी कार्यमा संलग्न बंगलादेश पल्लाबी ढाकाका ४९ बर्षिय मोहम्मद महबुर हुसेन, बंगलादेशको सीतागञ्ज घर भएर हाल काठमाडौंको नयाँ बजारमा बस्दै आएका ३७ बर्षिय मोहम्मद तनवीर हुसेन र सिन्धुपालचोक मेलम्ची नपा ६ भई काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ बर्षिया सुनिता खत्रीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २३ बर्षिया खत्रीलाई मंगलबार सुन्दरहरैँचा वडा नम्वर ८ बाट पक्राउ गरिएयो । त्यहाँबाट भाग्न सफल भएका ३ जना बंगलादेशी नागरिकमध्ये २ जनालाई भने प्रहरीले सुन्दरहरैँचा–४ बलियाबाट पक्राउ गरेको बताइएको छ ।
बंगलादेशी नागरिक तानवीरसँग नेपाली नागरिकता र पासपोर्ट दुवै रहेको छ । काठमाडौंमा बसेर गार्मेन्टमा काम गर्ने बताउँदै आएका उनीसँग रौतहट जिल्लाबाट जारी भएको तानवीर मिया दर्जीको नाममा नेपाली नागरिकता बनेको छ ।
‘उसको बंगलादेशी डकुमेन्टमा महमद तानवीर हुसेन देखिन्छ तर तानवीर मिया दर्जी नामको नेपाली नागरिकता र राहधानी पनि लिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,’ नेपाली नागरिकता कसरी बनाए भन्ने अनुसन्धान गर्दैछौं ।’
पक्राउ परेकाहरुले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा उनीहरुले एक हजार र एक हजार पाँच सय रुपैयाँ दिदै नागरिकताको फोटोकपी र फोटो संकलन गरिरहेका थिए । पक्राउ परेकाहरुले सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिको नागरिकताको फोटोकपी र फोटो संकलन गरेको प्रहरीले बताएको छ ।
परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट गरिबलाई सहयोग गर्न आएको भन्दै पैसा वितरण गर्दा उनीहरुले नागरिकताको फोटोकपी र एउटा फोटो मागेका थिए । एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म उपलब्ध गराइएको देखिएको प्रहरीको भनाइ छ ।
यसरी संकलन भएको फोटोकपी र फोटो प्रयोग गरेर डिजिटल वालेट खोलेर ठगी गर्नेगरेको देखिएको प्रहरीले बताएको छ । ‘उनीहरुको एक मात्र उदेश्य डिजिटल वालेटमा खाता खोलेर ठगी गर्ने देखिन्छ,’ प्रहरी प्रवक्ता रंजन दाहालले भने,‘ वालेट खोलेर ठगी गर्ने कुरा स्वीकार पनि गरिसकेका छन् ।’ अन्य क्षेत्रमा पनि ठगी गरेको जस्तो देखिएको बताउँदै उनले अनुसन्धान भइरहेको बताए ।
प्रहरीले पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल बरामद गरेको छ ।
तानवीरको नागरिकताको विषयमा अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले ठगी उद्योग अन्तर्गतको मुद्दा चलाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x