रवि लामिछानेको गिरफ्तारीसँगै रास्वपाको भविष्यमाथि उब्जिएका प्रश्नहर
दिप सिखा शर्मा , काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गिरफ्तारीपछि पार्टीले देशैभर शान्तिपूर्ण विरोधका कार्यक्रमहरू घोषणा गरेको छ। रास्वपाका कार्यकर्ता र समर्थकहरूले लामिछानेको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिरहेका छन्। शुक्रवार गिरफ्तार हुनुअघि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले शिर्ष दलहरूबीच आफूलाई जेल पठाउन सम्झौता भएको आरोप लगाएका छन्।
उनले भनेका छन्, “जुन दिन सरकार ढाल्ने सम्झौता भयो, त्यसबेलामा ‘मलाई सुनियोजित तवरले जेल पठाउने’ योजना बनाइएको थियो।”
लामिछानेले आफू विरुद्ध राज्यले सम्पूर्ण स्रोत र शक्ति परिचालन गरेर राजनीतिक दमन गरेको आरोप लगाउँदै आफू निर्दोष रहेको र सम्मानित अदालतबाट न्याय पाउने आशा गर्दै न्यायिक प्रक्रिया अन्तर्गत अनुसन्धानको लागि सघाउने प्रतिवद्दता व्यक्त गरेका छन् ।
राजनीतिशास्त्री कृष्ण पोखरेलका अनुसार लामिछानेको गिरफ्तारीको राजनैतिक जोड घटाउको आधारमा रणनीतिक रूपमा चयन गरिएको हो। केही दिनअघि भाटभटेनीका सन्चालक तथा उध्यमी/व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई करोडौँ रुपैयाँ बराबरको जग्गा दान गरेपछि उत्पन्न जनआक्रोशको ध्यानलाई डाईभर्ट गर्न लामिछानेको गिरफ्तारीको लागि षडयन्त्र गरिएको हुनसक्ने पोखरेलको तर्क रहेको छ।
रास्वपाको आगामी भविष्य के हुन्छ ?
कतिपय बौद्धिक व्यक्तित्वहरुले लामिछानेको गिरफ्तारीपछि रास्वपामा कायम रहेकोे राजनैतिक प्रभावको साख गिर्ने आँकलन गरिरहेका छन् तथापि राजनीतिकर्मी पोखरेलका अनुसार रास्वपाको आगामी भविष्य अदालतको निर्णयमा निर्भर हुनेछ। वकिलहरुका अनुसार मुद्दा लामो समय लम्बिन सक्ने सम्भावना रहेको र यो विषय माथिल्लो अदालतसम्म पुग्नसक्ने देखिएको छ।
उक्त मुद्दालाई रास्वपाले जनमानसमा प्रचार गरी राजनीतिक समर्थन जुटाउन सक्ने अवसर रहेको पोखरेल बताउँछन्। “हाम्रा नेतालाई अनावश्यक रूपमा फँसाइएको” मुद्दालाई अगाडि सार्दै जनमानसमा रास्वपाले आफ्नो पकड बलियो बनाउने प्रयास गर्न सक्नेछ, जसले पार्टीको रणनीति र जनसमर्थनमा उपयुक्त प्रभाव पार्न सक्छ।
वैकल्पिक नेतृत्वको विषयमा भने तत्काल विवाद शुरु हुने सम्भावना कम देखिएको छ। यदि मुद्दा लम्बिँदै गयो भने कार्यवाहक तोकेर पार्टी सञ्चालन गर्नसक्ने अवस्था देखिएतापनि कार्यकर्ताहरुबाट लामिछानेको नेतृत्वलाई चुनौती दिने सम्भावना तत्काल देखिएको छैन।
चुनौतीपूर्ण परिस्थितिमा रास्वपाको प्रतिक्रिया
———————————————————–
रास्वपाका नेता तथा कार्यकर्ताहरूले लामिछानेलाई सहकारी ठगीको मुद्दामा झुट्टा आरोप लगाइएको भन्दै सरकारको चर्को आलोचना गरिरहेका छन्। राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले यो प्रतिक्रिया स्वाभाविक ठान्छन्। उनका अनुसार यस्ता घटनामा राजनीतिक दलहरूले आफ्नो अनुकूल अभिव्यक्ति दिन्छन् ,नेपाली राजनैतिक इतिहासमा यो कुनै नयाँ कुरा होइन।
पछिल्लो समय नेपालमा राजनीतिक दलहरूले एकअर्कालाई सिध्याउने र जोगाउने प्रवृत्ति बढ्दै गएको छ। गौतमका अनुसार नेपाली काँग्रेस र नेकपा एमालेबीचको गठबन्धन टुटेमा दुवै दललाई रास्वपा र माओवादीको समर्थन आवश्यक पर्ने सम्भावना रहेको छ।
समग्रमा सभापति रवि लामिछानेको गिरफ्तारीले नेपाली राजनैतिक मैदानमा उदाउँदै गरेको रास्वपा पार्टीलाई चुनौती र अवसर दुवै प्रदान गरेको छ। पार्टीले बिधिको शासनको पालना गरी सम्मानित अदालतको लडाइँ लड्ने बताएको छ। लामिछानेमाथि लगाइएको मुद्दाले नेपाली राजनीतिको गतिशीलतामा महत्वपूर्ण प्रभाव पार्न सक्ने बिज्ञहरुको दाबी रहेकोे छ।



