२३ आश्विन २०८३, शुक्रबार

राजसंस्था,हिन्दू राष्ट्र पुनस्थापनाको आन्दोलन नितान्त नागरिकबाट-लोहनी

एसीपी संवाददाता

२२ मंसिर २०७७, सोमबार १३:३६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तीनमध्येका एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको आन्दोलन नितान्त नागरिक स्तरबाट उठेको नागरिक आन्दोलन भएको बताएका छन्।

राप्रपाले नागरिक आन्दोलनलाई राजनीतिक रंग दिन खोजेको आवाजहरु छिटपुट उठिरहेको परिपेक्षमा अध्यक्ष लोहनीले अहिले भइरहेको आन्दोलन पार्टी विशेषको नभई नितान्त नागरिकको भएको प्रस्टाएका हुन्।

लोहनीले अहिलेको आन्दोलनमा राप्रपाको साथ र सहयोग रहेपनि नेतृत्व नरहेको बताएका छन्।

लोहनीले भने, ‘यो विरोधमा बुद्धिजीवीहरु छन्, युवाहरु छन्। नेपाली कांग्रेस र नेकपाका नेताहरु पनि छन्। सबैले साथ नदिइ आन्दोलन यसरी आउदैन। यो एजेण्डा राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाइरहेको एजेण्डा हो। हामीले उठाइरहेको एजेण्डालाई अरु साथीहरुले उठाउनु हुन्छ भने ठिक गर्नु भयो भन्न त परिहाल्यो। राप्रपाले साथ दिन्छ। तर यो आन्दोलन नागरिकको हो।’

लोहनीले राप्रपा अब पार्टीगत हिसाबबाट पनि भ्रस्टाचार, जनजीविकाका सवाल लिएर आन्दोलनमा जाने बताए। उनले आफूहरुले लिएको एजेण्डा सहि रहेछ भन्ने कुरा नागरिक स्तरको आन्दोलनबाट प्रमाणित भएको पनि बताए।

लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले पनि धेरैलाई अहिले फेरि राजाप्रति विश्वास बढेको बताएका छन्।

लोहनीले भने, ‘राजाले जुन किसिमले शासन छाडे, ‘तिम्रो नासो तिमीलाई दिएँ’ भनेर नागार्जुनको जङ्गलमा गएर बसे – यो अभूतपूर्व उदाहरण हो। र, १२ वर्षसम्म शालीन भएर बसे।’

लोहनीले गणतन्त्र स्थापना पछि नेपाली जनताले पूर्व राजा र अहिलेको राजनीतिक नेतृत्वको अभिव्यक्ति र काम गराई बीचको अन्तर बोध गरेको बताए। उनी अभिभावका रूपमा नेपालीले राजसंस्थालाई खोजिरहेको दाबी गर्छन्।

लोहनीले भने, ‘जनताले पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्ति र अहिलेका कथित अग्रगामीहरुको अभिव्यक्ति र काम गराई दाजेका छन्। राजाले त नागार्जुनको डाँडामा बसेर नेपालको हित होस्। सरकारलाई नेपाली जनताको चित्त बुझाउनु होस्। नेपालीहरुको हित होस् भनेर बोल्नु बाहेक त केहि गर्नु भएको छैन। जसले गर्दा राजा राष्ट्रियताको लागि रहेछ भन्ने जनतालाई लागेको छ।’

उनि थप्छन्, ‘राजाले नेपालको राष्ट्रियताका पक्षमा आवाज उठाए। नागरिकको हैसियतमा बोले। मर्यादाको तह राखे। नेपाल छाडेर गएनन्। त्यसले गर्दा अहिलेका भुइँफुट्टा वर्गभन्दा त संविधानभित्रको राजसंस्था नै ठिक भन्ने भयो।’

लोहनी जनताले अपेक्षा गरेअनुसार झन्डै दुईतिहाइको सरकारले पनि केही गर्न नसकेको र ‘नवसामन्तवादी जसरी भुइँफुट्टा वर्गको उदय’ भएकाले पनि जनतामा राजसंस्थाप्रति मोह बढेको बताउँछन्।

लोहनीले जनतालाई आफ्नो देशमा हामी नै बिरानो हुने हो कि भन्ने लागि रहेको पनि बताए।

यति भनिसके पछि लोहनी आक्रामक भए। उनले नेताहरुले सदा भन्ने गरेको अग्रगमन बारे प्रश्न गर्दै भने, ‘भ्रस्टाचार, भागवण्ड, नातावाद, कृपावाद, यही हो त अग्रगमन हो?’

लोहनीले आन्दोलनमा पुराना मानिसहरु भन्दा नयाँ मानिसहरु देखिएको पनि बताएका छन्। उनि भन्छन्, ‘अहिले नागरिक समाजका थुप्रै साथीहरु लाग्नु भएको छ। गुम्सिएर बसेको कुरा अभिव्यक्त भएको छ। पुरानो होइन नयाँ पिढी राजाको लागि उत्रिएको छ।’

संसारको हरेक ठाउँमा जनता नै सर्वोच्च शक्ति भएपनि त्यसलाई अभिव्यक्त गर्ने संस्थाहरु एकै किसिमका हुनुपर्छ भन्ने नरहेको लोहनीले बताउँछन्। उनि भन्छन्, ‘जहाँ पनि जनता नै सुप्रिम हो। तरजनताको सर्वोच्चाता एकै किसिमका संस्थाहरु बाट अभिव्यक्त हुनु पर्छ भन्ने हुँदैन।’नेपालदिप बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x