१२ मंसिर २०८३, शुक्रबार

ललिता निवास प्रकरणका आरोपी पक्राउ गर्नुअघि प्रधानमन्त्री र आईजीपीबीचको त्यो सघन छलफल

एसीपी संवाददाता

१५ असार २०८०, शुक्रबार ११:४६ मा प्रकाशित

त्यतिबेलासम्म प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आरोपीहरूलाई पक्रिन सर्कुलर गरिसकेको थियो। नभन्दै सिआईबीको टोलीले मंगलबार सात जनालाई पक्राउ गर्‍यो। जसमा गुरूङसहित तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी सुधीर शाह, मालपोत कार्यालयकै कर्मचारीहरू धर्मप्रसाद गौतम, गोपाल कार्की, सुरेन्द्र कपाली, कलाधर देउजा र तत्कालीन भूमि सुधार मन्त्रालयका उपसचिव हुपेन्द्रमणी केसी छन्।

पक्राउ परेका कपाली, केसी र देउजाले काठमाडौं जिल्ला अदालतबाट स्टेअडर लिइसकेकाले प्रहरीले उनीहरूलाई कागजात गराएर छाडेको थियो। बाँकी चार जनालाई थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थपेको छ।

लामो समयपछि एक्कासी प्रहरीले ललिता निवास प्रकरणको फाइल किन खोल्यो? राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा उक्त फाइल खोलिएको स्रोतले जनाएको छ।

आरोपीहरू पक्राउ पर्नु एक दिनअघि गत सोमबार प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई बालुवाटार डाकेका थिए। दाहाल निकट एक माओवादी नेताका अनुसार प्रधानमन्त्री दाहाल र आईजीपी कुँवरबीच झन्डै एक घन्टा सघन छलफल भएको थियो।

प्रधानमन्त्री दाहालले ललिता निवास जग्गा प्रकरणको फाइललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आईजीपी कुँवरसँग चासो राखेका थिए। प्रधानमन्त्रीले चासो देखाएपछि आईजीपी कुँवर उक्त प्रकरणको फाइल बोकेर प्रधानमन्त्री निवास पुगेका थिए।

प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा मुछिएकालाई पक्राउ गर्दा त्यसले निम्त्याउनसक्ने सम्भावित परिणामका बारेमा समेत आईजीपी कुँवरसँग छलफल गरेका थिए।

‘प्रधानमन्त्रीज्युकै निर्देशनमा ललिता निवास प्रकरणका आरोपीहरू पक्राउ परेका छन्। उहाँले सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ। उक्त प्रकरण यही अभियानको एउटा पाटो हो,’ ती नेताले अन्नपूर्णसँग भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री कार्यालय र प्रहरी मुख्यालयबीच आवश्यक समन्वय हुन नसकेको विषय आइरहेका बेला ललिता निवास प्रकरणमा भने प्रधानमन्त्री दाहालले सुरूदेखि नै प्रहरीसँग समन्वय गरेका छन्।

शरणार्थी प्रकरणमा संलग्न केही व्यक्तिका बारेमा प्रहरीले पक्राउ गरेपछि मात्रै प्रधानमन्त्री दाहालले सूचना पाएका थिए। शरणार्थी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीबीचमा समेत आवश्यक समन्वय नभएको माओवादीका ती नेताले बताए। ‘ललिता निवास प्रकरणमा भने प्रधानमन्त्रीज्युले सुरूमै चासो देखाउनुभयो,’ ती नेताले भने।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो। यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर सीआईबीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। हालः उक्त मुद्दा विचाराधीन छ।  अन्नपूर्णपोस्ट

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x